जाजरकोट, ३ भदौं । जाजरकोटमा शैक्षिक सुधारका लागि ५ वर्षे जिल्ला शिक्षा योजना निर्माण गरिएको छ । शैक्षिक सुधार वर्ष घोषणा गरेर कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला शिक्षा कार्यालयले पञ्चर्षीय शैक्षिक सुधार योजना बनाएको हो ।
जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले विहीबार खलंगामा आयोजित एक कार्यक्रममा जिल्ला शिक्षा योजनाको खाका प्रस्तुत गरेका हुन् । प्रस्तुत योजनामा विद्यालय तहको सिकाई उपलब्धी ३६ प्रतिशत मात्र रहेकोमा आगामी ५ वर्ष भित्र ६० प्रतिशतमा पुर्याउने, हाल विद्यालय उमेर समूहका करिव ६ प्रतिशत बालबालिका विद्यालय वाहिर रहेकोमा योजनाको अन्त्यमा शून्यमा झार्ने, कक्षा छाड्ने दर ९ प्रतिशत भएकोमा ५ प्रतिशतमा झार्ने, कक्षा दोह¥याउने दर समग्रमा १० प्रतिशत रहेकोमा योजनाको अन्त्यमा ५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको जिल्ला शिक्षा अधिकारी सिंहले जानकारी गराएका थिए ।
साथै प्रस्तावित योजनामा अनुगमन र सुपरीवेक्षण प्रणालीलाई चुस्त, दुरुस्त, प्रभावकारी बनाउने, विद्यालयको सामाजिक परीक्षण, वित्तिय लेखा परीक्षणलाई प्रभावकारी बनाउन, शिक्षा नियमावलीले तोके अनुसार पुरा दिन विद्यालय संचालनको सुनिश्चितता गर्ने उल्लेख छ ।
त्यस्तै बालमैत्री सिकाईमा जोड दिने, विद्यालयलाई राजनैतिक हस्तक्षेपबाट मुक्त राख्ने, करार शिक्षक नियुक्तिमा पारदर्शीता र निष्पक्षता कायम गर्ने, योग्यता पुगेका शिक्षकलाई प्रधानाध्यापकमा नियुक्ति गर्ने, भुकम्प प्रतिरोधी र बालमैत्री भौतिक पुर्वाधारको विकास गर्ने, विद्यालयमा शिक्षक विद्यार्थीको नियमित उपस्थितिलाई सुनिश्चित गर्ने लक्ष्य राखिएको जिल्ला शिक्षा अधिकारी सिंहले जानकारी दिए ।
योजनामा जिल्लाको शैक्षिक उन्नयनका लागि सर्वपक्षीय सहकार्य, साझेदारी र प्रयत्नलाई जोड दिइ सर्वसुलभ विद्यालय शिक्षाको सुनिश्चितता, शिक्षामा पारदर्शिता, सुशासन र गुणस्तर कायम गर्दै नमूना शैक्षिक संस्थाहरुको प्रर्वद्धन मार्फत यस जिल्लालाई शैक्षिक पर्यटनको गन्तव्य जिल्लाका रुपमा विकास गर्ने दुरदृष्टी लिइएको छ ।
शैक्षिक योजनालाई सफल बनाई जिल्लाको शैक्षिक विकासमा सहयोग गर्न सरोकारवालालाई जिल्ला शिक्षा समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी इन्द्र गौतमले आग्रह गरेका छन् । उनले सवै पक्ष लागे योजना कार्यान्वनमा सहजता हुने र योजना कार्यान्वयन हुने भएमा शैक्षिक सुधारमा आमुल परिवर्तन आउने बताए ।
कार्यक्रममा नागरिक अगुवा राजेन्द्र विक्रम शाहले शैक्षिक सुधारका लागि शिक्षकलाई राजनीति गर्नबाट बन्देज लगाउनु पर्ने धारणा राखे । विद्यालय बालमैत्री हुनु पर्नेमा जोड दिदै शैक्षिक सुधारको लागी विद्यार्थी, अभिभावक र शिक्षक अग्रसर रहनु पर्ने उनको भनाई छ ।
त्यस्तै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जनक के.सीले नपढाउने शिक्षकलाई कारवाही गर्नु पर्ने बताउँदै कागजमा योजना मात्र नहुने भएकोले कार्यालयले कार्यान्वयनमा कडाईका साथ लाग्नु पर्ने सुझाव दिए ।
कार्यक्रममा सहभागी जिल्ला स्थित राजनैतिक दल, नागरिक समाजका प्रतिनिधीहरु, गैरसरकारी संस्थाका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, पत्रकार लगायतले जिल्लाको शैक्षिक अवस्था निकै खस्किएकोले योजनाले शैक्षिक सुधारमा सहयोग गर्ने भन्दै जिल्लाको शैक्षिक योजनाले निर्धारण गरेका लक्ष्य पुरा गर्न आ आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।
प्रकाशित मिति: ३ भाद्र २०७३, शुक्रबार ११:३०