पाँचथर, १ भदौ । स्थानीय तह पुनःसंरचना आयोगले गरेको विभाजनप्रति असहमति जनाएर पाँचथरमा सच्याउन माग गर्दै निवेदन दिने क्रम बढेर गएको छ ।
आयोगको निर्देशनमा स्थानीय तहमा काम गर्नका लागि गठित प्राविधिक समितिमा एक सातामा नौवटा असहमतिका निवेदन प्राप्तभएको समितिले जनाएको छ ।
आयोगको निर्णयअनुसार पाँचथरमा पाँचवटा स्थानीयतह बनाउने प्रस्तावको विकल्पमा थप दुई प्रस्ताव यसअघि नै आइसकेको भएपनि पछिल्ला तीनदिनमा गाविस विभाजन र सेवा केन्द्र फेरबदलका लागि निवेदन आउने क्रम बढेको हो । प्राविधिक समितिमा आएका उजुरीमध्ये गाविस विभाजन गर्न नहुने भन्दै दुईवटा असहमतिपत्र आएका छन् ।
त्यसबाहेक सेवा केन्द्रलाई प्रस्ताव गरिएको ठाउँमा राख्न हुने र नहुने दुवै गरेर निवेदन आएको समिति संयोजक एवम् स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
“ठूलो असहमतिको विषय होइन,” संयोजक धमलाले भने , “समग्रमा बुझ्दा स्थानीयवासीलाई साबिकका स्थानबाट सेवा केन्द्र परिवर्तन हुन्छन् कि भन्ने चिन्ता परेको छ । त्यस्तो नहुने विश्वास दिलाउन लागिरहेका छौँ ।” दक्षिणी पाँचथरको यासोक क्षेत्रमा एक गाउँपालिकाका लागि फरक–फरक माग आएका छन् ।
यासोक क्षेत्रका स्थानीयवासीले यासोक बजारलाई केन्द्र बनाउनुपर्ने माग गरेका छन् भने आङसाराङ क्षेत्रका स्थानीयवासीले आङसाराङलाई केन्द्र बनाउनुपर्ने माग गरेका छन् । आयोगले तोकेको सङ्ख्यामा असहमति पुरानै विषय भएपनि जिल्लामा सेवा केन्द्र र गाउँपालिकामा राखिने केन्द्रका विषयमा स्थानीयवासीका आ–आफ्नै माग आएका हुन् ।
पछिल्लोपटक भारपा गाविस–१ देखि ५ सम्मका स्थानीयवासीले आफूहरूलाई फिदिम नगरपालिकामा लैजानुपर्नेमा त्यसो हुन नसकेको भन्दै विरोध गरेपछि अन्य क्षेत्रका स्थानीयवासीले पनि केन्द्र, सेवा केन्द्र लगायतका विषयमा असन्तुष्टि राखेका हुन् ।
भारपाको जोरपोखरीमा भेला भएका करिब दुई सय स्थानीयवासीले भइरहेको भन्दा पनि असजिलो हुने गरी भारपा गाविसका केही वडालाई प्रस्तावित फालेलुङ गाउँपालिकामा समायोजन गरिएको भन्दै विरोध गरिएको बताएका छन् । रासस