मङ्गलबार साँझ पर्वत सदरमुकाम कुश्माबजार आइपुग्नुभएका अध्यक्ष विष्टसँग स्थानीय पत्रकार महासङ्घ पर्वत शाखाले राखेको अन्तरक्रियामा पत्रकारको परीक्षा राज्यले लिनु प्रेस स्वतन्त्रताको अधिकार हनन हुने बताएका छन् । राज्यले पत्रकारको परीक्षा लिनु उचित नहुने बताउँदै सम्बन्धित सञ्चारमाध्यमले नै आफ्नो आवश्यकताअनुसार लिनसक्ने उनले बताए ।
उनले राज्य अझै पनि सञ्चारजगत्प्रति उदार बन्न नसकेको बताउँदै त्यसका लागि आम नेपाली पत्रकार एकजुट हुनुपर्ने बेला आएको बताए । “मोफसलमा सञ्चारमाध्यमप्रति राज्य अझै उदार हुन सकिरहेको छैन”, उनले भने । यसका लागि विज्ञापन प्राधिकरण, पत्रकार बिमा कार्यक्रम लगायतलाई कार्यान्वयनमा लैजान आवश्यक दबाब सिर्जना गरिरहेको बताए ।
उनले मोफसलका पत्रपत्रिकालाई मूल्य अभिवृद्धि कर लगाउने राज्यको नीतिलाई खुकुलो बनाउनुपर्ने बताए । व्यवसायीलाई जस्तो सञ्चारमाध्यमलाई कर अनिवार्य गर्न नहुने बताउँदै जसले करको दायराभन्दा बढीको कारोबार गर्छ, त्यस्तोलाई मात्र मूल्य अभिवृद्धि करमा समावेश गर्नुपर्ने बताए ।
सो अवसरमा केन्द्रीय अध्यक्ष डा विष्टले लोकतन्त्र प्राप्तिपछि नेपाली सञ्चारजगत्ले खेल्दै आएको भूमिका, चुनौती र त्यसमा दोहोरिरहेका समस्याका विषयमा चर्चा गरेका थिए । विष्टले मुलुकमा जतिसुुकै लोकतन्त्रका कुरा आए पनि नेपाली सञ्चारजगत्ले विगतको पीडा र समस्याबाट मुक्ति पाउन नसकेको बताउँदै पत्रकार महासङ्घले अहिले सम्बन्धित निकायलाई बेलाबखत झक्झकाइरहेको बताए ।
कार्यक्रममा सहभागी पर्वतका सञ्चारकर्मीले जिल्लामा भोग्नुपरेका समस्या र वर्तमान सञ्चार नीतिका विषय उठान गरी छलफल गरेका थिए ।
नेपाल पत्रकार महासङ्घ पर्वत शाखाका अध्यक्ष दुर्गाप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्वतमा क्रियाशील सञ्चारकर्मीले सञ्चारमाध्यममा लागू गरेको करनीति, विभिन्न अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका लगायतका विषयमा जिज्ञासा राख्दै मोफसलको सञ्चारलाई सोहीअनुरुप नीति कार्यान्वयन गराउन माग गरेका थिए ।
रासस