काठमाडौ १ भदौ आर्थिक – खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न कसुरमा २ सय ६ ओटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । गत आर्थिक वर्ष २०७२/७३ मा विभिन्न खाद्य उद्योगलाई निम्न गुणस्तर, मिसावट तथा दूषित खाद्य वस्तु उत्पादन तथा विक्री गरेको अभियोगमा विभागले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको हो । त्यसमध्ये क्षेत्रीय खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाबाट १ सय १, विभागस्थित गुण नियन्त्रण महाशाखाबाट ५४, क्षेत्रीय कार्यालय धनगढीबाट १८, नेपालगञ्जबाट १३, विराटनगरबाट ११ र भैरहवाबाट ९ ओटा मुद्दा दायर भएका हुन् । दायर मुद्दामध्ये सबैभन्दा बढी खानेतेलसँग सम्बन्धित रहेका छन् । तेलका ३९, पानीका २५, दूधका १७, घिउका १७, बेसनका ७, बिस्कुटका ५, दालका ४, पाउरोटीका ४ र बाँकी अन्य खाद्य वस्तुसम्बन्धी मुद्दा रहेको विभागले मङ्गलवार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
विभागले गत आर्थिक वर्षमा २ हजार १ सय २० पटक उद्योग तथा बजारको अनुगमन गरी निरीक्षण गरेको थियो । गत आवको साउनदेखि असारसम्म अनुगमन गरी २ हजार १ सय २० नमूना सङ्कलन गरिएकोमा करीब १० प्रतिशत प्रतिकूल पाएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए । विभागले सो अवधिमा ३ सय २९ उद्योगलाई नयाँ अनुज्ञापत्र दिएको, १ हजार २ सय ६७ उद्योगको अनुज्ञापत्र नवीकरण तथा ८ सय १० नयाँ उद्योग स्थापनाका लागि सिफारिश गरेको छ ।अभियान दैनिकमा खबर छ ।
विभाग तथा विभागअन्तर्गत कार्यालयबाट संंयुक्त अनुगमनका क्रममा कुल १ सय ५६ पटक निरीक्षण भई ५ सय ३० मध्ये १ सय ८६ स्थानमा सुधारका लागि निर्देशन दिइएको, ४५ स्थानमा नमूना सङ्कलन गरिएको, २३ स्थानमा उत्पादन तथा विक्रीवितरणमा रोक लगाइएको विभागले जानकारी दिएको छ । उक्त अनुगमनका क्रममा भेटिएका खाद्य वस्तुमध्ये १ सय ८ केजी खुवा, १२ केजी मिठाई, २ केजी गुँदपाकलगायत विभिन्न खाद्य वस्तु नष्ट गरिएको थियो ।
त्यस्तै होटल तथा रेष्टुराँको स्तरीकरणअन्तर्गत २ सय ७० होटल तथा रेष्टुराँको स्तरीकरण गरिएकोमा ६६ लाई हरियो, १ सय १७ लाई पहेँलोमा एक रातो धर्का तथा ८७ लाई पहेँलोमा २ रातो धर्का अङ्कित स्टीकर वितरण गरिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । उनका अनुसार हालसम्म विभागले ६ सय ६८ होटल तथा रेष्टुराँको स्तरीकरण भएकोमा ८६ लाई हरियो, ४ सय १४ लाई पहेँलोमा १ रातो धर्का तथा १ सय ६८ लाई पहँेलोमा २ रातो धर्का अङ्कित स्टीकर वितरण गरेकोे छ ।
साथै विभागले विभिन्न नाकाबाट आयातित वस्तुको गुण प्रमाणीकरणका लागि २३ हजार १ सय २३ नमूना सङ्कलन गरेकोमा ४७ ओटा नमूना प्रतिकूल रहेको पाइएको बताइएको छ ।
विभागले पहिलोपटक गत आर्थिक वर्षमा दायर मुद्दाको विस्तृत विवरण सार्वजनिक गरेको छ । विभागले झापास्थित शेर्पा थुक्पा उद्योग, ललितपुरस्थित नवप्रभात डेरी उद्योग, भैरहवास्थित नेपाल एभरेष्ट फूड एण्ड स्न्याक्स प्रालि, काठमाडौंस्थित बोटलर्स नेपाल, काठमाडौंस्थित क्रिष्टल एक्वा सर्भिस प्रालि, नेपालगञ्जस्थित नेपाल खाद्य संस्थान, सिरहास्थित केबी एण्ड सन्स नेपाल, झापास्थित बुधकरण टी प्याकेजिङविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यस्तै काठमाडौंस्थित वीर अस्पताल डाइट सेक्सन (खाना), काठमाडौंकै कृष्ण आयल रिफाइनरी एण्ड भेजिटेबल इण्डष्ट्रिज, चितवनस्थित श्याम प्याकेजिङ उद्योग, भरतपुरको कार्की भोजनालय, चितवनस्थित गोर्खा टी एण्ड कफी इण्डष्ट्रिज, चितवन डेरी, पोखरेल किराना पसल, गणेश लक्ष्मी फ्रुट जूस हाउस, भरतपुरको सूर्य होटल, चितवनकै डीएएसएम मिनरल वाटर एण्ड वेभरेज प्रालि, प्रधान मिनरल वाटर एण्ड वेभरेज प्रालि, मुक्तिनाथ पानी उद्योग तथा वेभरेज, बाबा बटारे उद्योग, क्वालिटी ड्राइ फ्रुट प्रोडक्स र काठमाडौंस्थित आकाश स्वीट्स एण्ट चाट हाउस रहेका छन् ।
प्रकाशित मिति: १ भाद्र २०७३, बुधबार ०७:३२