युनिट्राभ पोखराद्वारा आइतवार यहाँ आयोजित अन्तक्रियामा अध्यक्ष विजय केसीले विदेशी पर्यटकको सहयोगीका रुपमा काम गर्दै आएका श्रमिक माथि हुने गरेका अमानवीय व्यवहारका साथै भोग्दै आएका समस्याबारे सम्बन्धित निकायमा लगातार जानकारी गराउँदै आए पनि त्यसको सुनुवाइ हुन नसकेको बताए ।
अन्नपूण क्षेत्रअन्तर्गत भनुवादेखि अन्नपूर्ण आधार शिविर र आधार शिविरदेखि भनुवासम्म श्रमिकले करिब पाँच दिनको खानाको रकम भनुवा काउन्टरमा अग्रिम बुझाउनुपर्र्ने, विदेशी पर्यटकको सङ्ख्या हेरेर मात्र बास बस्न दिने जस्ता अत्यन्तै अपमानित व्यवहार भइरहेको छ उनले भने ।
आफूहरूप्रति गरिएका अमानवीय व्यवहारका सम्बन्धमा २०६२ सालदेखि कुरा उठाउँदै आए पनि श्रमिकाका प्रति गरिने व्यवहार झन झन निकृष्ट भएको भन्दै उनले एक हप्ताभित्र यी व्यवहार तत्काल अन्त्य नगरे आन्दोलन गर्न बाध्य हुने बताए ।
ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चलका अध्यक्ष रामचन्द्र शर्माले पर्यटन प्रवद्र्धनमा श्रमिकको भूमिका महत्वपूर्ण हुने बताउँदै उनीहरू माथि गरिने अमानवीय व्यवहार पूर्णरुपमा बन्द हुनुपर्ने धारणा राखे ।
अन्नपूर्ण क्षेत्रमा सम्बद्ध पक्षबीचको सहमतिमा खानालगायतमा मेनु तयार गर्ने जस्ता विषयमा २०७० पुस १० मा सरोकारवालाबीच सहमति भए पनि त्यसलाई बेवास्ता गरिएको उनको भनाइ छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पर्यटन अधिकृत रश्मी आचार्यले पर्यटन मजदुर माथि गरिने दुव्यवहार तत्काल अन्त्य गर्नुपर्ने बताउँदै त्यसका लागि सरोकारवाला निकायबीच अन्तक्रिया हुनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा युनिट्राभ केन्द्रीय समितिका महासचिव सुमनप्रसाद पराजुली, नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण च्याप्टरका निवर्तमान अध्यक्ष जीवन सापकोटा, जी फन्डका रुद्र खत्री, बुद्धिमान तामाङलगायतले पर्यटन व्यवसायको विकासका लागि महत्वपूर्ण संबाहकका रुपमा रहेका श्रमिकलाई अपमान हुने गरी गरिने कुनै पनि व्यवहारको अन्त्य हुनुपर्नेमा जोड दिए ।
रासस