काठमाडौँ, ३१ साउन-श्री ५’ पद खारेज भइसकेको १० वर्ष बितिसक्दा पनि राजधानीका सडकमा अझै ‘श्री ५ अधिराजकुमार र श्री ५ महाराजाधिराज’का नाममा रहेका झण्डै तीन दर्जन गाडी गुड्ने गरेका छन् ।
सरकारी निकायका पदाधिकारीदेखि राष्ट्रपतिसम्मले प्रयोग गर्दै आउनुभएका गाडी हालसम्म नेपाल सरकारको नाममा नामसारी गरिएको छैन । कतिपय गाडीको ‘ब्लुबुक’ भने नवीकरण भइरहेको छ तर श्री ५ कै नाममा नवीकरण हुँदै आएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख रोहित ढुङ्गानाले आफूहरूको चारवटा गाडी प्रयोग भइरहेको जानकारी दिँदै भन्नुभयो, “ती गाडीको प्रज्ञापनपत्र नै नभएकाले नेपाल सरकारको नाममा नामसारी हुन नसकेको हो । ”
राजसंस्था खारेज हुनुअघिसम्म दरबारमा ६५ वटा गाडी थिए । तीमध्ये दरबारको ग्यारेजमा २८ वटा गाडी थन्किएका थिए । थन्किएकैमध्येबाट हालै एउटा गाडी उपराष्ट्रपतिको कार्यालयमा पनि पठाइएको छ । सो गाडी तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रयोग गर्ने गर्नुभएको थियो ।
अन्तिम राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्दा २०६५ साल जेठ ३० गते बुलेट प्रुफ मर्सिडिज बेन्ज कारसहित चारवटा गाडी आफूसाथ लिएर जानुभएको थियो । त्यसअघि उहाँको निजी आवास निर्मल निवासमा छवटा गाडी दरबारबाटै लगिएका थिए । एउटा मर्सिडिज बेन्ज कार मुमाबडामहारानी रत्न शाहलाई दिइएको छ ।
उहाँ हालसम्म सो गाडी चढेर चारपटक मात्र दरबारबाहिर जानुभएको छ । सो गाडी दरबार परिसरमा रहेको महेन्द्र मञ्जिलको ग्यारेजमा थन्क्याएर राखिएको छ ।
दरबार सङ्ग्रहालयका अनुसार दरबार मातहतमा रहेका दुईवटा गाडी ‘श्री ५ अधिराजकुमार ज्ञानेन्द्रवीरविक्रम शाह’को नाममा छ भने बाँकी सबै ‘श्री ५ महाराजाधिराज सरकार’को नाममा छ । विगतमा कान्छी महारानी (राजा त्रिभुवनकी पत्नी)को नाममा रहेका दुईवटा गाडी श्री ५ महाराजाधिराजका नाममा नामसारी भएको थियो ।
दरबार सङ्ग्रहालयले आफ्ना चारवटा गाडीको नामसारी गर्न दुई वर्षअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत यातायात व्यवस्था विभागमा सिफारिस पठाएको थियो तर प्रज्ञापनपत्र नभएको भन्दै सिफारिस फिर्ता पठाइएको थियो । त्यसपछि नामसारी गर्ने मामिलामा दरबार सङ्ग्रहालयका पदाधिकारीहरू अग्रसर भएका छैनन् ।
“फेरि प्रज्ञापनपत्र छैन भन्ने जानकारी दिइन्छ”, सङ्ग्रहालय प्रमुख ढुङ्गानाले भन्नुभयो, “प्रज्ञापनपत्र जुटाउनसक्ने अवस्था छैन । त्यसैले नामसारीका लागि फेरि प्रयास गरेका छैनौँ । नेपाल सरकारले विशेष निर्णय गरेर सबै गाडी नेपाल सरकारकै नाममा नामसारी गर्नुबाहेक अरू उपाय छैन । ”
श्री ५ का नाममा रहेका गाडी गृह मन्त्रालय, नेपाली सेना, सामान्य प्रशासन मन्त्रालय, निजामती कर्मचारी अस्पताल, संस्कृति मन्त्रालय, सहरी विकास मन्त्रालय, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय लगायतले लिएका थिए । केही वर्षअघि उपराष्ट्रपतिका लागि भनेर गृह मन्त्रालयले लगेको गाडी नेपाल प्रहरीले प्रयोग गरेको छ ।
हाल राष्ट्रपतिले प्रयोग गर्ने बा. ४ च २१५४ नम्बरको लिमोजिन गाडी पनि श्री ५ कै नाममा छ । परराष्ट्र मन्त्रालयले विगतमा संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनको नेपाल भ्रमण हुन लागेकाले चाहिएको भन्दै बुलेट प्रुफ मर्सिडिज बेन्ज लिएर गएकोमा हाल दरबार परिसरमा रहेको राहदानी विभागबाहिर अलपत्र छ ।
केही वर्षअघि दरबारका गाडी व्यवस्थापन गर्न एउटा समिति नै गठन भएको थियो । समितिले काम लाग्ने गाडी नेपाल सरकारका नाममा नामसारी गरेर चलाउन सकिने र काम नलाग्ने १४ वटा गाडीको दर्ता खारेज गरी सङ्ग्रहालयमा प्रदर्शनीमा राख्न सकिने सिफारिस गरेको थियो ।
सोही समितिको प्रतिवेदनमा थन्किएकामध्ये तीनवटा गाडी सामान्य मर्मत गरी अति विशिष्ट पदाधिकारीलाई र चारवटा विशिष्ट पदाधिकारीलाई दिन सकिने पनि सिफारिस गरिएको थियो । ग्यारेजमा अझै पनि सातवटा बुलेट प्रुफ कार रहेको बताइएको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले ‘ब्लुबुक’का आधारमा नामसारी गर्न सकिने बताउँदै भन्नुभयो, “हामीसँग जतिसुकै पुराना गाडीको रेकर्ड छ । त्यसैले ब्लुबुक प्राप्त हुन सकेमा रेकर्ड फेला पार्न सकिन्छ । त्यसैका आधारमा नामसारी गर्न समस्या हुँदैन । त्यसको प्रयास हामी गरिदिन्छौँ । ”
प्रकाशित मिति: ३१ श्रावण २०७३, सोमबार ०६:४९