प्रचार प्रसार र भौतिक पूर्वाधारको अभावमा कञ्चनपुरको देखतभुली–६ मा पर्ने इटाहा क्षेत्र ओझेलमा परेको हो ।
ऐतिहासिक र धार्मिक क्षेत्रका रुपमा परिचित इटाहा क्षेत्रमा प्राचीनकालीन इँटा र सिक्काहरु पाइनुले यस क्षेत्रमा प्राचीनकालमा मानव बसोबास रहेको पुष्टि गरे पनि संरक्षणका लागि बेवास्ता हँुदै आएको छ ।
पुरातात्विक वस्तुको संरक्षण नहुँदा पुराना इँटा र धातुका सिक्का उत्खनन गरेरसमेत चोरी हुने क्रम बढेको छ ।
लालझाडी मोहना संरक्षण क्षेत्रमा पर्ने इटाहा क्षेत्रमा पाइएका इँटाको चौडाइ, लम्बाइ हाल पाइने इँटाको भन्दा निकै ठुलो रहेको छ । जानकारहरुका अनुसार ती इँटाको प्रयोग किरातकालीन समयमा हुने गरेको थियो ।
प्राचीन इँटाको प्रयोग गरी बनाइएको कुवा र मूर्तिसमेत यस क्षेत्रमा रहेको स्थानीय समाजसेवी ठगी रानाले बताउनुभयो । उहाँका अनुसार यहाँका बासिन्दा पहिले भारतीय क्षेत्रबाट आउने डाँकाका कारण पीडित रहेका थिए ।
“मानव बस्ती रहेको इटाहा क्षेत्रमा डाँकाहरु लुटपाटका लागि पुगे पनि बाटो बिराएका कारण लुटपाट गर्न नसकी फर्केकाले त्यसै दिनदेखि यस गाउँको नाम देखतभुली रहन गरेको हो” – उनले भने । राना समुदायले इटाहा क्षेत्रमा पाइएको मूर्ति स्थापित गरी इटाहा बाबाका नामले दसैँका बेला पूजासमेत गर्दै आएका छन् । इटाहा बाबाको दशहरा र शिवरात्रिका बेला यहाँ पूजा हुने गरेको छ ।
वर्षौंदेखि पुजारीका रुपमा राना थारु समुदायका व्यक्तिले यहाँ पूजा गर्नुपर्ने चलन रहेको छ । थारु समुदायका व्यक्तिले पूजा गर्ने यो मात्रै एक क्षेत्र रहेको हेमलाल चौधरीले बताए ।
चोखो मनले भाकल गरेमा मनोकांक्षा पूरा हुने भएकाले स्थानीय बासिन्दा यस क्षेत्रलाई श्रद्धापूर्वक स्मरण गर्ने गर्छन् ।
गाविसको रु ५० हजारको सहयोगमा स्थानीय बासिन्दाले मन्दिर बनाउने जमर्को गरेका भए पनि मन्दिरका लागि पर्याप्त बजेट नपुग्दा मन्दिर निर्माणको कार्य पूरा हुन सकेको छैन ।
इटाहा क्षेत्रको १० बिगाहा जग्गालाई समेटेर धार्मिक वनका रुपमा विकास गरिएको छ । धार्मिक वनमा बँदेल, चित्तल, नीलगाईलगायतका जनावर दिउँसै देख्न सकिन्छ ।
यस क्षेत्रले प्रशस्त पर्यटकीय सम्भावना बोकेको भए पनि प्रचारप्रसार, बाटोघाटो र भौतिक पूर्वाधारको विकास नहुँदा ओझेलमा रहेको भीम रानाले बताए ।
“पर्यटकीय सूचिमा इटाहा क्षेत्रलाई सूचिकृत गर्न पहल गरी भौतिक पूर्वाधार विकासका लागि जिल्ला विकास समितिलाई आग्रह गर्दै आए पनि हालसम्म चासो दिइएको छैन” – उनले भने ।
नजिकै रहेको दोदा नदीले यस क्षेत्रमा जग्गा कटानको कार्यलाई समेत तीव्र बनाउँदै लगेकाले इटाहा क्षेत्रको अस्तित्व खतरामा पर्दै गएको छ । रासस