जाजरकोट–जुम्ला सडकको छेडा कचाली खण्डको मोर्क खोलामा पुल नबन्दा सर्वसाधारण मर्कामा परेका छन् ।
निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुल निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यवसायीको लापर्बाहीले १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने पुलको पाँच वर्ष बित्दा जगमात्र ठड्याइएको छ ।
पुल निर्माणको जिम्मा सर्व उद्धार फ्रेन्डस् जेभी कोटेश्वर, काठमाडौँको फर्मबाट जाजरकोट सुवानाउलीका कर्णबहादुर खड्काले निर्माण कामको जिम्मा लिएका थिए ।
पन्ध्र महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६९ मा ठेक्का सम्झौता भएको पुलको ठेकेदारले समयमा काम नगर्दा निर्माण अलपत्र परेको हो ।
तीनपटक म्याद थप गर्दा पनि काम पूरा हुन सकेको छैन । स्थानीयबासिन्दा खोलामा जोखिम मोलेर वारपार गर्ने गरेका छन् । महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गलाई खोला तर्न समस्या हुने गरेको छ ।
सीमा, जुँगाथापाचौर, साल्मा, दशेरा, मजकोट, दह, गर्खाकोट, पजारु, झाप्रा, टालेगाउँ, पैकलगायत १५ गाविस, जुम्ला तथा उत्तरी बारेकोटका बासिन्दालाईसमेत समस्या भएको छ ।
स्थानीयवासीले निर्माण व्यवसायीलाई कारबाही गर्न जोडदार माग गरेका छन् । निर्माण जिम्मा लिएको ठेकेदारले काम नगरेर दोस्रो व्यक्तिलाई कामको जिम्मा लगाउँदा निर्माणको काम अलपत्र परेको जिविसले जनाएको छ
पुल नबन्दा थलहबजारसम्मको २५ किमी सडकमा यातायात सञ्चालन हुन सकेको छैन । यो पुल स्थानीय सडक पुल आयोजनाद्वारा रु एक करोड ४३ लाख लागतमा निर्माण हुन थालेको थियो ।
पुल निर्माणका लागि हालसम्म रु ५० लाख बढी पेस्की खर्च भइसकेको छ । २५ मिटर लम्बाइ र चार मिटर चौडाइ भएको पुलको लागि पेस्की रकम बराबरको कामसमेत नभएको स्थानीयवासीले बताएका छन् ।
व्यवसायीले प्रतिस्पर्धामा कामको जिम्मेवारी लिने अनि काम सम्पन्नतर्फ बेवास्ता गर्ने प्रचलनले समस्या भएको स्थानीय विकास अधिकारी इन्द्र गौतमले बताए ।
रासस