काठमाडौ ३० साउन – प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।
यही साउन १९ गते बुधबार प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको १० दिन बित्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै आलोचना सुरु भएपछि प्रधानमन्त्री दाहालले आज विस्तारको तयारी गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिबार भएको भेटवार्तामा पनि सरकार विस्तारको विषयमा नै कुराकानी भएको र मुलुकका विद्यमान समस्या समाधान गर्नका लागि पनि तत्काल सरकार क्रियाशील हुनुपर्ने भएकाले कुनै विलम्व नगरी मन्त्री थप गर्न लागिएको हो ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहालसँग सरकार विस्तारको विषयमा चासो राखेकी थिइन्। राष्ट्रपतिको चासोपछि प्रधानमन्त्रीले आइतबार आफूले केही मन्त्री थप गर्ने तयारी गरेको जानकारी गराएका थिए।
प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले सत्ता साझेदार दल नेपाली काँग्रेसबाट पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम प्राप्त भएपछि एकैपटक विस्तार गर्ने तयारी गरिएकाले केही ढिलाइ भएको जानकारी दिए।
आइतबार नेकपा (माओवादी केन्द्र)का तर्फबाट पाँच मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको छ । स्वकीय सचिव मल्ल भन्छन्– “तयारी गरिएको छ । आइतबार साँझसम्म अरु दलबाट नभए पनि माओवादीका तर्फबाट सरकारमा सहभागी गराउन बाँकी रहेका पाँच मन्त्रालयमा मन्त्री नियुक्त गरिन्छ ।”
प्रधानमन्त्री दाहालले यही साउन २० गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएलगत्तै दुई उपप्रधानमन्त्री र तीन मन्त्रीले पनि मन्त्रालयको जिम्मा दिएका थिए। नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार काँग्रेसले १३ र माओवादीले आठ मन्त्रालय लिने सहमति भएको छ।
सोही सहमतिअनुसार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा विमलेन्द्र निधि, उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा कृष्णबहादुर महराले कार्यभार सम्हालिसके। यस्तै माओवादी केन्द्रका तर्फबाट कृषि विकास मन्त्रीमा गौरीशङ्कर चौधरी र युवा तथा खेलकुद मन्त्रीमा दलजीत श्रीपाइलीले पनि कार्यभार सम्हालिसके।
माओवादी केन्द्रले मन्त्री छनोटको सम्पूर्ण अधिकार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष दाहाललाई नै दिएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले समानुपातिक, समावेशी सन्तुलन मिलाएर मन्त्री छनोट गर्न आग्रह गरेको छ ।
प्रवक्ता पम्फा भुसालले मन्त्री छनोट गर्ने जिम्मा प्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई नै दिइएकाले उहाँले यस विषयमा आवश्यक निर्णय गर्ने बताए।
माओवादी केन्द्रले ऊर्जा, सङ्घीय मामिला तथा स्थानीय विकास, शिक्षा, सूचना तथा सञ्चारलगायत मन्त्रालय लिने सहमति भएको छ ।
यस्तै प्रधानमन्त्री दाहालले आपूर्तिमन्त्रीमा राप्रपाका दीपक बोहोरा, भूमिसुधार तथा व्यवस्था मन्त्रीमा सोही दलका विक्रम पाण्डे र नेकपा (संयुक्त)का जयदेव जोशीलाई जनसङ्ख्या तथा वातावरण मन्त्रीका रुपमा कार्यविभाजन गरिसके।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकले केही दिनभित्रै सरकारले पूर्णता पाउने र त्यसको तयारी भइरहेको जानकारी दिए। उनले सरकार विस्तार गर्न केही समस्या नरहेको र केही दिनभित्रैमा पूर्णता पाउने र रोकिनुपर्ने कुनै कारण नरहेको बताए।
काँग्रेसका अर्का नेता धनराज गुरुङले नेपाल विद्यार्थी सङ्घको महाधिवेशनका कारण मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको स्वीकार गर्दै अब केही दिनभित्रैमा सबै प्रक्रियाले पूर्णता पाउने बताए।
“प्रधानमन्त्री चयन भएको १० दिन भइसक्यो, अब बहाना बनाएर बस्न मिल्दैन, प्रमुख नेता बसेर तत्काल सरकार विस्तार गर्नुपर्छ । जनताको अपेक्षा, मुलुकका विद्यमान समस्या समाधान गर्न सरकार क्रियाशील भएर लाग्नुपर्ने भएकाले केही दिनभित्रै मन्त्रीमण्डलले पूर्णता पाउनुपर्छ” – नेता गुरुङले भने। रासस
प्रकाशित मिति: ३० श्रावण २०७३, आईतवार ०७:१७