बनेपा, २९ साउन । तपाई पत्याउनुहुन्छ ? कुनै कृषि उपजको उत्पादन माटो बिना पनि हुन्छ भनेर । तर काभ्रेपलाञ्चोकमा एकजना कृषकले जिल्लामै पहिलो पटक माटो बिना नै काँक्रो उत्पादन गरेका छन् ।
जिल्लाको उग्रचण्डीनाला गाविस– १ मा नेपाल इन्ट्रिग्रेटेड मोडेल एग्रो फार्म प्रालिले उत्पादन गरेको काँक्रो झट्ट हेर्दा घिराँैला जस्तो देखिए पनि स्वादमासमेत फरक पाउन सकिन्छ ।
माटोमा फलाएको जस्तो ठूलो आकारको नहुने काँक्रोको उत्पादन गमलामा जैविक मल र नरिवलको जटाबाट निर्माण गरिएको ‘कोकोपिट’ को मिश्रणबाट भएको फार्मका सञ्चालक सिंहबहादुर कर्माचार्यले बताए ।
यसको तौल बढीमा आधा किलो हुन्छ । उनले कृषिमा अत्याधुनिक प्रविधिमार्फत इजरायलबाट ल्याएको प्रविधि परीक्षणको रुपमा उत्पादन भएको उल्लेख गर्दै त्यसका लागि राष्ट्रिय कृषि अनुसन्धान विकास कोष (नाडेफ) ले रु ३० लाख अनुदान सहयोग गरेको जानकारी दिए । फार्मको ६५० गमलामा “इङलिस कुकम्बर” जातको काँक्रा रोपिएको छ ।
प्लास्टिक गमलामा २५ प्रतिशत जैविक मल र ७५ प्रतिशत नरिवलको जटाबाट निर्माण गरिएको (कोकोपिट) को मिश्रणमा काँक्रो रोपेका थियाँै उनले भने । फार्म सञ्चालक सिंहले यो प्रविधि नेपालमा सफल भएको बताउँदै हावा चल्ने जुनसुकै ठाँउमा हुनसक्ने जानकारी दिए ।
करिब दुई रोपनी क्षेत्रफलमा टनेलभित्र भएको काँक्राको उत्पादन झन्डै ६ महिनाको अवधिमा दोस्रो पटक हो । रोपेको ३५ दिनमा खानयोग्य हुने काँक्रोमा कुनै विषादी प्रयोग भएको छैन सञ्चालक सिंहले भने ।
उनले यसलाई बजारको माग अनुसार अझै विस्तार गर्ने लक्ष्य भएको जानकारी दिँदै अर्गानिक उत्पादनका बारेमा उपभोक्ता नै सचेत नभएकाले बजारमा समस्या आएको गुनासो गरे । यो काँक्रो अहिले प्रतिकिलो ७० रुपैयाँमा बिक्री भएको छ ।
काठमाडौँको माछापोखरीमा “सलोम” एग्रिकल्चर प्रालि सञ्चालन गर्नुभएका श्रीकृष्ण अधिकारीले नेपालमा पहिलो पटक माटो बिना काँक्रा उत्पादन गर्ने इजरायली प्रविधि भित्र्याएको जानकारी दिँदै काठमाडौँमा अधिकांशले कौसीमा यस्तो खेती गरेको बताए ।
नौ वर्षसम्म इजरायलको गमला फार्मिङमा काम गरेर अनुभव सङ्गाल्नुभएका अधिकारीले विश्वका धेरै देशमा माटो बिना नै खेती भएको औल्याउँदै सुरुमा लगानी बढी हुनसक्छ तर यसले दिगो लाभ दिन्छ भने ।
माटो एउटा माध्यम हो, खाद्य तत्व बिरुवालाई पुगेपछि पानीमा पनि कृषि उत्पादन हुनसक्छ उनले तर्क गरे । अधिकारीले यस्तो प्रविधिको खेती नेपालमा तीन वर्षअघि सुरु भएको उल्लेख गर्दै काठमाडौँ बाहेक पोखरा, पाँचथर र लमजुङमा समेत यस्तो प्रविधिको खेती भइरहेको जानकारी दिए ।
माटो खुकुलो हुन्छ, झारपात उम्रने समस्या हुदँैन एक पटक प्रयोग गरेको कोकोपिट चार वर्षसम्म पुनप्रयोग गर्न सकिन्छ उहाँको भनाइ छ । एउटा बिरुवाका लागि कम्तीमा १०० रुपैयाँ लगानी हुन्छ ।
रासस