बागलुङ, २९ साउन । बाढी, पहिरोका कारण जिल्लाका १२३ परिवार विस्थापित भएका छन् । घर पूर्णरुपमा क्षति भएपछि ७१२ जना आफन्तको शरणमा छन् ।
घरबास गुमाउनेको सङ्ख्या अझै बढी हुनसक्ने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । यही साउन १० र ११ गतेको बाढीमा घर गुमाउने अधिकांश जिल्लाको पश्चिम भेगका बासिन्दा छन् ।
सबैभन्दा बढी अधिकारीचौर गाविसका ६७ घरमा पूर्ण क्षति पुगेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले जानकारी दिए । सो गाविसका ३९७ जना विस्थापित अवस्थामा छन् । भुजी खोलामा आएको बाढीले अधिकारीचौरको दोगाडी, छालहाल्ने, ओख्रेनी, सामीद्वारलगायतका बस्तीमा क्षति पुर्याएको थियो । बुङ्गादोभानमा २० घर पूर्ण क्षति हुँदा १३० जना विस्थापित छन् ।
त्यस्तै बुर्तिवाङमा नौ घरका ४७ जना, भिमगिठेमा पाँच घरका २२ जना, दर्लिङमा चार घरका १७ जना, निशीमा तीन घरका १६ जना विस्थापित भएको प्रजिअ पाण्डेयले बताए । बाढीले ग्वालीचौरको एक घर बगाउँदा सात जना विस्थापित छन् । जिल्लाको अन्यत्र भागमा पनि पहिरोले घरमा क्षति पु¥याउँदा सर्वसाधारण घरवार विहीन बनेका छन् ।
बागलुङ नगरपालिकाका पाँच घरमा पुगेको क्षतिले २२ जना, मालिकाको एक घरका चार जना, रायडाँडाका दुई घरका पाँच जना, कुश्मीसेराका दुई घरका १० जना र बोहरागाउँका दुई घरका आठ जना विस्थापित भएको जनाइएको छ । बाढी प्रभावितको लागि प्रारम्भिक राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए । सम्बन्धित गाविस सचिवले वितरण गर्ने गरी पेश्की रकम दिइएको उनको भनाइ छ ।
“पहिलो चरणको नगदसहित राहत सामग्री वितरण भइसकेको छ” सहायक प्रजिअ गिरीले भने, “प्रतिपरिवारमा रु १० हजारका दरले राहत पुगेको छ, अझै छुटेका परिवार छन्, विस्थापितका सङ्ख्या पनि संशोधन हुने अवस्था छ ।” गृह मन्त्रालयबाट तोकिएर आउने रकमको अतिरिक्त जिल्ला दैवी प्रकोप उद्धार समितिबाट पनि राहत वितरण गरिएको छ ।