पाल्पा, २९ साउन । जिल्ला खेलकुद विकास समिति पाल्पाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न विधाका ३०० खेलाडी र दुई पत्रकारलाई सम्मान गरेको छ ।
समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे, समितिका अध्यक्ष करुणा काफ्लेलगायतले नगद, पदक र प्रमाणपत्रबाट उनीहरुलाई सम्मान गरेका हुन् ।
समितिले खेलकुद क्षेत्रमा कलम चलाएकोमा पत्रकार कृष्ण पोखरेल र देव पचभैयालाई सम्मान गरेको हो । समितिले पत्रकारद्वयलाई नगद पाँच हजारसहित सम्मानपत्रबाट सम्मान गरेको छ ।
समितिले २०३० सालदेखि हालसम्मका २१ विधाका सबै नयाँ तथा पुराना खेलाडीलाई सम्मान गरेको हो ।
समितिले आइटिएफ टेक्वान्डोका ७० जना, क्रिकेटतर्फ ३० जना, ब्याडमिन्टनतर्फ ३० जना, फुटबलतर्फ २५ जना, भलिबलतर्फ १० जना, करातेतर्फ १५ जना, डब्लुटिएफतर्फ १० जना, एथलेटिक्सतर्फ ४० जना, जुडो, उसो, शारीरिक सुघठन, टिटीलगायत अन्य विधामा गरी ७० जना गरी ३०० खेलाडीलाई सम्मान गरेको हो ।
राष्ट्रिय प्रतियोगितामा पदक विजेता २५० जना र अन्तर्राष्ट्रिय खेलमा सहभागी ५० जना जिल्ला खेलकुद विकास समितिले सम्मान गरेको हो । खेलकुद विकास समितिले पहिलो पटक यति धैरे सङ्ख्यामा खेलाडीलाई सम्मान गरेको हो । रासस