पोखरा, २८ साउन । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिलाई अपराधमुक्त गरिनुपर्ने बताएका छन् ।
उपप्रधान एवम गृहमन्त्री विमलेन्द्र निधि शुक्रबार रामजी पौडेलʿबादलʾ मेमोरियल ट्रष्टद्वारा पोखरामा आयोजित नेपाली काँग्रेसका नेता एवम समाजसेवी स्व.रामजी पौडेलʿबादलʾको प्रथम वार्षिक स्मृति सभामा आफ्नो मन्तव्य व्यक्त गर्दै । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस
रामजी पौडेल ‘बादल’ मेमोरियल ट्रस्टद्वारा यहाँ आज यहाँ आयोजित नेपाली काँग्रेसका नेता एवम् समाजसेवी स्व रामजी पौडेल ‘बादल’ को प्रथम वार्षिक स्मृतिसभामा उहाँले राजनीतिलाई अपराधमुक्त गर्नुपर्ने र समाजमा बसोबास गर्ने जो कोही व्यक्ति सुरक्षित बन्नुपर्ने धारणा राखेका हुन् ।
रहस्यात्मक रुपमा भएको बादलको हत्याले नेपाली काँग्रेसका साथै समग्र राष्ट र लोकतन्त्रले क्षति बेहोर्नु परेको बताउँदै उनले हत्याका दोषीले सजाय पाउनुपर्ने बताए । हत्याको छानबिनका सम्बन्धमा अदालतको जारी प्रक्रिया एवम् कारबाहीमा सरकारले सहयोग गर्ने उनले उल्लेख गरे ।
देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि संविधानको कार्यान्वयन आवश्यक रहेको छ भन्दै गृहमन्त्री निधिले संविधानका सम्बन्धमा देखिएका असन्तुष्टिलाई सम्बोधन गरेर विद्यमान समस्या समाधान गरिने बताए ।
“माओवादी केन्द्रसँग भएको सातबुँदे सहमति र मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति सरकारको भावी कार्यदिशाको गन्तव्य बिन्दु हो”– उनले भने, “सबै किसिमका समस्या समाधान गर्दै संविधानको प्रभावकारी कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणलगायतमा सरकार सक्रियताकासाथ लागिपर्नेछ, २०७४ माघ ७ सम्म सबै तहको निर्वाचन सम्पन्न नगरे संविधान धरापमा पर्न सक्छ ।”
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेस नेता बादलको हत्या निष्ठा र आदर्शमाथिको हत्या भएको बताउँदै घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गरिनुपर्ने बताए ।
रामजी पौडेल ‘बादल’ मेमोरियल ट्रस्टका अध्यक्ष चन्द्रावती पौडेलले हत्याको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरे । नेपाली काँग्रेस कास्कीका पूर्वसभापति एवम् सांसद यज्ञबहादुर थापा, सांसद बृन्दा राना र शारदा पौडेल, नेता शुक्रराज शर्मा, सोभियतबहादुर अधिकारी, खेमराज पौडेल, तारा अधिकारी, प्रा डा यमनाथ तिमल्सिना लगायतले व्यक्तिगत स्वार्थबाट माथि उठेर पार्टी र समाजका लागि स्व बादलले गर्नुभएको योगदान चीरकाल पर्यन्त बाँचिरहने विचार व्यक्त गरे ।
उक्त अवसरमा ट्रस्टद्वारा प्रकाशित रामजी पौडेल ‘बादल’ स्मृति दर्पणको उपप्रधान एवम् गृहमन्त्री निधिले विमोचन गरे । रासस