ललितपुर, २८ साउन । भूकम्प र नाकाबन्दीका कारण जिल्लामा रोकिएको सडक विस्तार कार्यले पुनः गति लिएको छ ।
जिल्लामा चक्रपथभित्र र बाहिर दुवै क्षेत्रमा सडक विस्तारको काम अघि बढेको काठमाडौँ उपत्यका विकास प्राधिकरणका इञ्जिनियर पूर्णबहादुर महर्जनले बताए ।
चक्रपथ बाहिर पाँचवटा सडकखण्डमा २२ मिटर मापदण्डको सडकको काम अघि बढेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको सडक विस्तार निर्देशक समितिको निर्णयका आधारमा सडकको निर्माणको काम अघि बढेको हो । महर्जनले भने – “समितिले निर्णय गरेअनुसार हामीले काम अघि बढाइरहेका छौँ ।”
प्राधिकरणले समितिबाट निर्णय भएको सडकमा चिह्न लगाएपछि निर्माणको काम डिभिजन सडक कार्यालयले अघि बढाउने गरेको छ । नख्खु खोलाबाट बुङ्मतीसम्म २२ मिटर मापदण्डको सडकको काम अघि बढेको छ । यो सडकखण्डमा चिह्न लगाउने काम सकिएको छ । भत्काउने काम सकिएपछि डिभिजन सडकले निर्माणको प्रक्रिया अघि बढाएको हो ।
हरिसिद्धि पुलदेखि गोदावरी कुण्डसम्म सडक निर्माणको काम धमाधम अघि बढेको छ । हरिसिद्धि पुलबाट हात्तीवनसम्मको सडक कालोपत्रे सकिएको छ । हरिसिद्धिबाट गोदावरीसम्म चिह्न लगाउनेलगायतका काम अघि बढेको इञ्जिनियर महर्जनले बताए ।
ललितपुरकै सबैभन्दा बढी चाप हुने सडकमध्येमा पर्ने ग्वार्काेमा दुई वर्ष पहिले नै सडक विस्तार सुरु भएको थियो । ग्वार्काेबाट इमाडोलसम्मको सडक चौडा बनाउनेसँगै कालोपत्रे सकिएको छ । इमाडोलबाट लुभूको कर्मनाशा पुलसम्मको सडक चिह्न लगाउने काम सकिएको छ । अस्थायी संरचना भत्काउने काम सकिएको छ । डिभिजन सडक कार्यालयले टेन्डर गरेर निर्माण प्रक्रिया अघि बढाएको छ । यस वर्ष लुभूसम्मको बाटो सकिएपछि आगामी वर्ष लामाटारसम्मको सडकको काम अघि बढ्ने कार्यालयले जनाएको छ ।
सातदोबाटो–चापागाउँसम्म चिह्न लगाउने काम सकिएको छ । यस सडकखण्डमा गत वर्ष भूकम्प पहिले नै चिह्न लगाउन सकिएको थियो । ढोलाहिटीसम्म अस्थायी संरचना भत्काउने कामसमेत भइसकेको छ ।
नख्खु खोलाबाट बुङ्मती, सातदोवाटो–चापागाउँ, हरिसिद्धि पुलबाट हात्तीवन पुलसम्म, इमाडोलबाट कर्मनाशासम्म गरेर चारवटा सडकखण्ड २२ मिटर मापदण्डका हुन् । बाइस मिटर मापदण्डका सडक निर्माणको काम काठमाडौँ उपत्यका सडक सुधार आयोजनाले गर्नेछ । यीमध्ये धेरै घर भत्कने स्थानका स्थानीयवासीले सडकको मापदण्ड कम गर्न अनुरोध गरिरहेका छन् । प्राधिकरणले भने मन्त्रिपरिषद्को निर्णय हुँदाबाहेक अन्य अवस्थामा मापदण्ड परिवर्तन नहुने बताउँदै आएको छ ।
चक्रपथ बाहिर सडकको मुख्य भागबाट सात÷सात गरेर १४ मिटर चौडाइ मापदण्डको सडकको कामसमेत प्राधिकरणले अघि बढाएको छ । इसिमोडबाट धापाखेल हुँदै ठेचोसम्म जोड्ने सडकमा विस्तार र निर्माणको काम अघि बढेको छ । चक्रपथभित्रका भित्री र सहायक दुवै सडकमा काम अघि बढेको छ । धोवीघाटबाट सुन्दरीघाटसम्म १४ मिटर मापदण्डको सडक विस्तार सुरु भएको छ । प्राधिकरणले गर्ने काम सकिएकाले डिभिजन सडक कार्यालयले गर्ने काम मात्रै बाँकी छ ।
सडक विस्तारको काम अघि बढेयता प्राधिकरणले दुईजनालाई मुआब्जा उपलब्ध गराएको इञ्जिनियर महर्जनले बताए । सानेपा र कुसुन्तीका एक/एकजना स्थानीयवासीले मुआब्जा बुझेका हुन् । उनले भने – “अहिलेसम्म धेरैले मुआब्जा दाबी गर्नुभएको नै छैन ।” प्राधिकरणले घर क्षतिग्रस्त हुँदा त्यस बराबरको रकम उपलब्ध गराउँछ । विस्थापित नै हुँदा भने घर र जग्गा दुवै बराबरको रकम उपलब्ध गराउँछ । प्राधिकरणले २०७१/७२ र २०७२/७३ मा जम्मा रु तीन÷तीन करोड स्थानीयवासीलाई मुआब्जाका रुपमा उपलब्ध गराएको थियो ।
अहिले विस्तार भइरहेका २२ मिटर मापदण्डका सडक विसं २०४५ मा प्रस्तावित सडक हुन् । सरकारले त्यतिबेला नै कुन स्थानमा कति मिटरको सडक निर्माण गर्ने भन्ने नक्सा बनाएको थियो । त्यसैका आधारमा अहिले काम अघि बढेको हो । लामो समयसम्म काम हुन नसके पनि केही वर्ष पहिलेबाट सडक विस्तारले तीव्रता पाएको छ । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण रोकिए पनि यस वर्ष फेरि निरन्तरता पाएको हो । रासस