रामपुर (पाल्पा), २७ साउन । सहलकोट भाङ्बारीका अगुवा कृषक यमबहादुर मश्राङ्गीले तरकारी खेतीबाट मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दैआएका छन् ।
सात वर्ष अगाडि बेरोजगार रहनुभएका मश्राङ्गी अहिले जिल्लामै नमुना तरकारी उत्पादक कृषकका रुपमा परिचित छन् । स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमबाट प्रसारण हुने कृषि कार्यक्रमबाट प्रभावित भई उनले विगत सात वर्षदेखि तरकारी खेती गर्दै आएका छन् ।
तरकारी खेतीमा समर्पित उहाँले आफ्नै करिब १० रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेर मासिक मनग्य आम्दानी गर्दैआएका छन् । मेहनत र परिश्रमले नै पर्याप्त आम्दानी गर्न सकको उनी बताउँछन् । गत असारमा मात्रै गोलभेँडा, सिमी, खुर्सानी र बोडी बेचेर मश्राङ्गीले रु एक लाख ५० हजार आम्दानी गरेका छन् ।
रेडियोबाट बज्ने कृषि कार्यक्रमबाट प्रभावित भएर तरकारी खेतीमा लाग्नुभएका मश्राङ्गीले चार छोराछोरीलाई शिक्षा दिएका छन् । “छोराछोरीलाई पढाउन सक्ने अवस्था थिएन, अहिले तरकारी बेचेर बोर्डिङ र क्याम्पसमा भर्ना गरिदिएको छु,” उनले भने ।
तरकारीको कमाइ बचत गरी उनले बैंकमा समेत जमा गर्दैआएका छन् । मश्राङ्गीले रामपुरको बेझाड बजारको तरकारी सङ्कलन केन्द्रमा दैनिक चार क्विन्टलसम्म तरकारी बिक्री गर्न ल्याउने गरेको तरकारी व्यापारी ओमप्रकाश रेग्मी बताउँछन् । अगुवा कृषक मश्राङ्गीले गाउँमा उत्पादित अन्य कृषकको पनि तरकारी खरिद गरी बजारसम्म पुर्याउने गर्दछन्।
रामपुरदेखि सहलकोट जोड्ने सडकको स्तरोन्नति गर्न सकेको खण्डमा भाङबारी क्षेत्रलाई तरकारी उत्पादनको नमुना क्षेत्रका रुपमा चिनाउन सकिने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइराला बताउँछन् । कार्यालयले युवा लक्षित तरकारी खेती कार्यक्रमअन्तर्गत रु ४० हजार रकम अनुदानमा उपलब्ध गराएको उनको भनाइ छ ।
बाटोकै समस्याका कारण यहाँका कृषकले भनेको समयमा गाउँमा उत्पादित तरकारी बजारमा पुर्याउन सकिरहेका छैनन् । बाटो सहज भएको अवस्थामा दिनहुँ करिब १० क्विन्टलसम्म तरकारी रामपुरको बेझाड बजारमा भित्रने यहाँका व्यापारी बताउँछन् । रासस