जुम्ला, २७ साउन । चन्दननाथ नगरपालिका १२ को तलिउम ज्यूलोमा तीन वर्ष पछि रोपाईं गरिएको छ । तीन वर्ष अघि गाउँ माथिबाट आएको वाढीले सिंचाई कुलो बगाएपछि तलिउम ज्यूलो बाँझै रहन पुगेको थियो । वाढीले बगाएको वालुवा, ढुंगा र काठले भरिएको हुनलो तलिउमका किसानले धान रोप्न पाएका थिएनन् । वाढीलाई पन्छाएर गत वर्ष देखि जौ, सिमी, मकै र कोदो लगाउदै आएका त्यहाका किसान
ले यस वर्ष देखि धान रोप्न पाएका छन् । ‘वाढीले बगाउँदा धान रोपाईं रोकिएको थियो’ स्थानीय सुर्जा रावलले भनिन, ‘अहिले धान रोप्न पाएका छौ ।’
नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम जुम्लाले वाढीले बगाएको स्थानमा ६० मिटर लामो आरसिसी कुलो निर्माण गरिदिएपछि यहाँका किसानले तीन वर्ष देखि बाँझै खेतमा फेरी धान रोप्न थालेका हुन् ।
बाँझो खेतमा सिंचाई भएर धान रोप्न पाउदा निकै उत्साहित भएको तलिउमका दिप वहादुर रावल वताउँछन् । वाढीले ४० घरधुरीले लगाउने खेत वगाएको रावलले जानकारी दिए । उनले भने, ‘वाढीले बगाएको कुलो निर्माण भएका कारण सिंचाईको प्रवन्ध हुँदा किसानले धान रोप्न पाएका छन् ।’
वाढीले क्षति पुर्याएको कुलो निर्माण भएपछि तलिउममा अव रोपार्इं नियमित चल्ने किसानले आशा गरेका छन् । सिंचाई कुलो निर्माण भएपछि किसानको लामो समयको माग वल्ल संवोधन भएको स्थानीय किसान दिप रावलले बताए ।
वाढीका कारण ढुंगाले भरिएको ज्यूलो अहिले हरियाली छ । लहलह धान फलेका छन् । तिन वर्ष पछि खेतमा धान रोप्न पाउदा किसान पनि निकै उत्साहित छन् ।
प्रकाशित मिति: २७ श्रावण २०७३, बिहीबार ०७:४७