काठमाडौ २७ साउन– चालू आर्थिक वर्ष २०७३/७४ मा धानको उत्पादन बढ्ने भएको छ । समयमै रोपाइँ सकिन लागेकाले धान उत्पादन बढ्ने अनुमान कृषि विकास मन्त्रालयले गरेको हो । ‘समयमा वर्षा भएकाले रोपाइँ सकिन लागेको र धान लगाउने समयमा मलको समस्या तथा बाहिरी रोकावट पनि नभएकाले धानको उत्पादन ५० लाख मेट्रिक टनभन्दा माथि हुने अनुमान गरिएको कृषि विकास मन्त्रालयका सहप्रवक्ता शङ्कर सापकोटाले बताए ।
गत अािर्थक वर्ष २०७२/७३ मा ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । ‘पश्चिम क्षेत्रतिर रोपाइँ करीब सकिन लागिसक्यो,’ उनले भने, ‘पूर्वका केही जिल्लामात्र बाँकी छन्, करीब ९६ प्रतिशतसम्म रोपाइँ हुन्छ होला, त्यति रोपाइँ हुनु भनेको शतप्रतिशत रोपाइँ हुनुसरह नै हो ।’आर्थिक अभियान दैनिकमा खबर छ ।
गत आवमा धानको उत्पादनमा १० दशमलव २ प्रतिशतले कमी आएपछि सरकारले चैतदेखि बृहत्तर धान उत्पादन कार्यक्रम शुरू गरेको छ । सोही कारणले पनि यस वर्ष धानको उत्पादन बढ्ने देखिएको हो । गत आव २०७२/७३ मा बन्दहडताल, नाकाबन्दी तथा प्रतिकूल मौसम तथा धान उत्पादन क्षेत्र घटेकाले अघिल्ला वर्षहरूका तुलनामा धान उत्पादनका कमी आएको थियो ।
गत आवमा भएको धान उत्पादन अघिल्लो आवको तुलनामा ४ लाख ९० हजार मेटन कम हो । धान उत्पादन क्षेत्रमा पनि ४ दशमलव ४ प्रतिशतले कमी आएको छ । धान उत्पादन घटेसँगै यसको प्रत्यक्ष असर कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा परेको थियो । कुल गार्हस्थ्य कृषिक्षेत्रभित्र धानको भार २१ प्रतिशत रहेको छ ।
धान उत्पादनमा वृद्धि हुने देखिएपछि चालू आवमा खाद्यसङ्कट कम हुने मन्त्रालयले बताएको छ ।
‘हामीलाई अहिले ७ लाख मेटन चामल नपुग हुने देखिएको छ,’ सापकोटाले भने, ‘यसले खाद्यसङ्कटलाई केही कम भने गर्ने छ ।’ हाल भएको उत्पादकत्वलाई वृद्धि गर्न सके नेपालमा खाद्यसङ्कट नहुने उनले बताए । अहिले नेपालमा प्रतिहेक्टर जमीनमा औसत ३ दशमलव १ लाख मेटन धान फल्दै आएको छ । झापामा हाल पनि प्रतिहेक्टर ५ लाख मेटन धान उत्पादन हुँदै आएको छ । सो उत्पादनलाई बढाएर प्रतिहेक्टर ४ लाख मेटन पुर्याउन सके पनि नेपालमा पर्याप्त हुने उनले बताए । यसका लागि सरकारले सिँचाइ, उन्नत बीउबिजन, मल तथा प्रविधिलाई परिचालन गर्न सक्नुपर्छ ।
प्रकाशित मिति: २७ श्रावण २०७३, बिहीबार ०७:१६