चौतारा, २७ साउन । सामुदायिक वनको उद्गमस्थल सिन्धुपाल्चोकको ठोकर्पा गाविसमा स्तम्भको शिलान्यास गरिएको छ ।
प्रथम राष्ट्रिय सामुदायिक वन दिवस देशभरि तीनदिनसम्म मनाउने नेपाल सरकारको निणयअनुसार दोस्रो दिन ठोकर्पामा पूर्व वन तथा भू–संरक्षणमन्त्री अग्नि सापकोटा र वन मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले बुधबार संयुक्तरुपमा स्तम्भको शिलान्यास गरेका हुन् ।
सो अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद सापकोटाले सामुदायिक वन दिवस देशभर मनाउन गत जेठ १८ गते मन्त्रिपरिषद् बैठकले निणय गरेको चर्चा गर्दै ठोकर्पाबाट सुरु भएको सामुदायिक वनको अवधारणाले जिल्लाकै इज्जत बढेको बताए ।
वन ऐन, २०१८ अनुसार प्रत्येक जिल्लामा वन अधिकृतको व्यवस्था गरी वनलाई राष्ट्रियकरण गरी संरक्षण गरिँदै आएको थियो । तर सरकारी रेखदेखबाट भएका वन पनि दिनप्रतिदिन नासिँदै गएपछि २०३० सालमा ठोकर्पा गाविसका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीले तत्कालीन जिल्ला वन अधिकृत डा तेजबहादुर सिंह महतसँग जनताको प्रत्यक्ष संलग्नतामा स्थानीयवासीले संरक्षण गर्न माग गरेअनुसार २०३० साउन २५ गते सामुदायिक वनका रुपमा अनुमति प्राप्त भएको थियो । सोही दिनलाई राष्ट्रिय दिवस मनाउने सरकारले निर्णय गरेको हो ।
नाङ्गा डाँडामा वृक्षारोपण गर्न ठोकर्पावासीले तत्कालीन पीपलडाँडा गाविसको पात्लेपानीस्थित वन नर्सरीबाट आतेजाते १३ कोस पैदल हिँडेर डोकोमा बिरुवा ओसारेर वृक्षारोपण गरेका थिए ।
“वृक्षारोपण गरेर मात्र नहुने रहेछ” – तत्कालीन प्रधानपञ्च भण्डारीले तत्कालीन अवस्थाको स्मरण गर्दै भने – “चैत वैशाखको धुपमा पनि आफूले रोपेका बिरुवा मर्नबाट जोगाउन गाग्रीमा पानी बोकेर बिरुवामा हालेर हुर्काएको अहिले जस्तै लाग्छ ।”
“आफैँले रोपेका बिरुवाको निकै मायाँ हुँदोरहेछ” – कालिका गाविस निवासी शिक्षक कृष्ण पौडेलले भने – “त्यसैले जसरी भएपनि हुर्काउने होडबाजीले गर्दा नाङ्गाडाँडा केही वर्षमै हरियालीमा परिणत भयो ।”
त्यतिबेला ठोकर्पा र कालीका एउटै गाविसमा थिए भने २०४९ सालको स्थानीय निर्वाचनदेखि दुईवटा गाविस कायम भएका हुन् । त्यसरी सुरु भएको सामुदायिक वन अहिले लोकप्रिय हुँदै गएको छ । सिन्धुपाल्चोकको ठोकर्पा गाविस नेपालको मात्र नभई सामुदायिक वनका रुपमा विश्वकै उद्गमस्थल मानिएको वन विज्ञको धारणा रहेको छ ।
तीसको दशकमा सुरु भएको सामुदायिक वन उपभोक्ता समूहको सङ्ख्या जिल्लामा ५१९ पुगेको छ । त्यसले २८ हजार ५५२ हेक्टर क्षेत्र ओगटेको सामुदायिक वन उपभोक्ता समिति जिल्ला अध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए ।
हाल देशभरि १८ हजार ९६० सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । त्यसले कुल १८ लाख हेक्टर वन क्षेत्र ओगटेको र देशभरि २३ लाख घरधुरीका एक करोड ५० लाख जनता आबद्ध रहेको सामुदायिक वन उपभोक्ता महासङ्घ केन्द्रीय कार्यालयले जानकारी दिएको छ । रासस