बैतडी, २६ साउन । बैतडीको तल्लादेहीका पहिरोपीडितलाई मङ्गलबार राहत वितरण गरिएको छ । तल्लादेही–८ डाँडाखालीको पहिरोका कारण घरबारविहीन भएका चार परिवारलाई विभिन्न सरकारी तथा गैरसरकारी निकायको पहलमा राहत वितरण गरिएको तल्लादेही गाविसका सचिव डम्बरबहादुर विष्टले जानकारी दिए ।
पहिरोबाट विस्थापित भएका जानकी सार्की, कले सार्की, मने सार्की र जसुराम सार्कीलाई राहत वितरण गरिएको हो । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रतिघरपरिवार पाँच हजार नगद राहत वितरण गरिएको छ भने नेपाल रेडक्रस सोसाइटीका तर्फबाट त्रिपाल, भाँडाकुँडा, कम्बल लगायतका सामग्री वितरण गरिएको छ ।
यस्तै, विपद्को क्षेत्रमा काम गर्दै आइरहेको संस्था सामाजिक चेतना तथा विकास सङ्घ( साडा), बैतडीले विस्थापित भएका चार परिवारलाई रु एक हजार ५०० का दरले नगद राहत वितरण गरिएको गाविस सचिव बिष्टले जानकारी दिए ।
यसैबीच, तल्लादेही गाविसमा बसेको सर्वदलीय बैठकले विस्थापित परिवारलाई पाँच हजारका दरले राहत प्रदान गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको बैठकले तत्काल उनीहरुलाई नगद राहत प्रदान गर्ने निर्णय भएको गाविसका सचिव डम्बरबहादुर बिष्टले जानकारी दिए । तल्लादेहीको वडा नं ८ डाँडाखालीमा शुक्रबार राति आएको पहिरोले घर पुरिँदा चार परिवार अहिले लोखाडी प्राविको भवनमा आश्रय लिएर बसिरहेका छन् ।
साथै, पूरै जमिन भासिएकाले गाउँका सबै ५२ घरपरिवार सुरक्षित बासस्थानको खोजीमा रहेको स्थानीय रामबहादुर बोहराले जानकारी दिए । उनले भने, “दिउँसो घरमा गएपनि राति सबै परिवार विद्यालयमा बस्ने गरेका छन् ।”
यसैबीच, राहत वितरणका साथै जमिन भासिएका बारेमा अध्ययन गर्नका लागि तल्लादेही पुगेको प्राविधिकको टोलीले जमिन भासिएको बारेमा अध्ययन गरेको छ । प्राविधिक टोलीले अध्ययनबाट प्राप्त नतिजाका आधारमा जिल्ला प्रशासन कार्यालयलाई प्रतिवेदन बुझाउने निमित्त प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले जानकारी दिए ।
प्राविधिकको टोलीले प्रतिवेदन बुझाएपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर आवश्यक निर्णय गर्ने उनले जानकारी दिए । रासस