काठमाडौ २६ साउन– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०७२/७३ मा वाणिज्य बैङ्कहरूको मुनाफा उल्लेख्य रूपमा बढेको छ । मङ्गलवारसम्म वार्षिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेका १४ ओटा वाणिज्य बैङ्कले कमाएको मुनाफाका आधारमा यस्तो विश्लेषण गरिएको हो । हाल २८ वाणिज्य बैङ्क सञ्चालनमा भए पनि बाँकी १४ ओटा बैङ्कले वित्तीय विवरण प्रकाशित गरिसकेका छैनन् ।
वित्तीय विवरण सार्वजनिक भएका १४ ओटा वाणिज्य बैङ्कहरूको खुद मुनाफा ४९ प्रतिशतले बढेको छ । ती बैङ्कले गत आवमा रू. १४ अर्ब ७० करोड खुद मुनाफा गरेका छन् । अघिल्लो आवमा ती बैङ्कको मुनाफा रू. ९ अर्ब ८६ करोड थियो । गतवर्षको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण मुलुकमा असहज परिस्थिति सृजना भई गत आवमा बैङ्कहरूमा कर्जाको माग घट्नुका साथै अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएको थियो । सोही कारण बैङ्कहरूको मुनाफा घट्ने आकलन गरिए पनि त्यसविपरीत बैङ्कहरूको नाफा उच्च दरले बढेको छ ।आर्थिक अभियान दैनिकमा खबर छ ।
भूकम्प र नाकाबन्दीपछि वित्तीय क्षेत्रमा परेको प्रतिकूल प्रभाव हटाउन नेपाल राष्ट्र बैङ्कले खराब कर्जाको वर्गीकरण, कर्जाको पुनर्वर्गीकरण, पुनःसंरचना, गे्रस अवधिमा वृद्धिलगायत विभिन्न सुविधा उपलब्ध गराएको थियो ।
त्यस्तो सुविधा बैङ्कहरूले गत चैतसम्म पाएका थिए । सोही कारणले पनि वाणिज्य बैङ्कहरूको मुनाफामा भूकम्प र नाकाबन्दीको प्रभाव नदेखिएको बैङ्करहरूले बताएका छन् ।
गत आवमा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेण्ट बैङ्कले रू. २ अर्ब ५५ करोड खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा यो बैङ्कको मुनाफा ३० प्रतिशतले बढेको छ । यस्तै, ग्लोबल आईएमई बैङ्कको मुनाफा ४४ दशमलव ३६ प्रतिशतले बढेर रू. १ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो आवमा यसको मुनाफा रू. ९६ करोड ६ लाख रहेको थियो । बाँकी ६ ओटा बैङ्कको मुनाफा १ अर्ब रुपैयाँ नाघेको छ भने ६ ओटा बैङ्कको मुनाफा १ अर्ब रुपैयाँभन्दा कम रहेको छ । प्रतिशतको हिसाबमा सबैभन्दा धेरै नाफा जनता बैङ्कको बढे पनि रकमका आधारमा भने कम छ । चुक्तापूँजीको तुलनामा खुद नाफा प्रभु बैङ्कको बाहेक अरू सबै बैङ्कको बढेको देखिन्छ ।
कुल निक्षेप वृद्धिका आधारमा पनि नेपाल इन्भेष्टमेण्ट बैङ्क सबैभन्दा अघि छ । १ वर्षको अवधिमा बैङ्कको निक्षेप बढेर रू. १ खर्ब ८ अर्ब पुगेको छ । त्यस्तै, सबैभन्दा कम वृद्धि दर जनता बैङ्कको छ । यसको कुल निक्षेप रू. २४ अर्ब ६ करोड रहेको छ । यसैगरी कर्जा प्रवाहको आधारमा पनि सबैभन्दा अघि नेपाल इन्भेष्टमेण्ट बैङ्क नै रहेको छ । गत असारसम्म बैङ्कले रू. ८७ अर्ब कर्जा प्रवाह गरेको छ । जनता बैङ्कले रू. २० अर्ब ४७ करोड सबैभन्दा थोरै कर्जा प्रवाह गरेको छ ।

रकमको हिसाबमा इन्भेष्टमेण्ट बैङ्कको खुद ब्याज आम्दानी धेरै देखिए पनि प्रतिशतको आधारमा सानिमा बैङ्कको अघि छ । अघिल्लो अवको तुलनामा गत आवमा यो बैङ्कको खुद ब्याज आम्दानी ५१ दशमलव २१ प्रतिशतले बढेर रू. १ अर्ब ७२ करोड पुगेको छ । यस्तै, अन्य बैङ्कको ब्याज आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ । सबैभन्दा थोरै खराब कर्जा भएको बैङ्कका रूपमा पनि सानिमा बैङ्क नै अघि छ । यो बैङ्कको खराब कर्जा कुल कर्जाको शून्य दशमलव शून्य २ प्रतिशत रहेको छ । यस्तै, प्रभु बैङ्कको खराब कर्जा सबैभन्दा धेरै ८ दशमलव ३८ प्रतिशत रहेको छ । यो राष्ट्र बैङ्कको निर्देशनभन्दा बढी हो । राष्ट्र बैङ्कको निर्देशनअनुसार वाणिज्य बैङ्कको खराब कर्जा बढीमा ५ प्रतिशत हुनुपर्छ ।
प्रकाशित मिति: २६ श्रावण २०७३, बुधबार ०६:४९