बनेपा, २५ साउन । काभ्रेपलाञ्चोकमा कृषकलाई कृषि पेसामा प्रोत्साहन गर्न विभिन्न बाली मार्फत पुरस्कृत गर्न थालिएको छ ।
जिल्ला कृषि विकास कार्यालयले सोमबार धुलिखेलमा खाद्यान्न बाली प्रतियोगितामार्फत सामूहिक तथा व्यक्तिगत पुरस्कार वितरण गरेको छ । कृषकको उद्यमशीलता र व्यावसायिकता, उन्नत प्रविधिको ज्ञान र अनुसरण, नयाँ प्रविधिको खोज, कृषकको उत्पादन र उत्पादकत्व लगायत विषयमा मूल्याङ्कन गरिएपछि उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
पुरस्कृत हुनेमा कुशादेवीका केशव बुढाथोकी, मैयाँ गौतम सरस्वती सिग्देल र शशि अधिकारी छन् । उनीहरुलाई क्रमशः रु एक हजार ५००, रु एक हजार २००, रु ९०० रु ५०० सहित प्रमाणपत्र वितरण गरिएको थियो ।
त्यस्तै धानबालीतर्फ महाँकाल–२ का विजय भट्टराई, धुलिखेलका कान्छामान सार्की, पाँचखालका गोविन्दसिंह नेपाल र फोक्सिङ्टार–९ का चमारसिंह लामा पुरस्कृत भएका छन् । उनीहरुलाई पनि क्रमशः रु एक हजार ५००, रु एक हजार २००, रु ९०० र रु ५०० तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै गहुँबालीतर्फ कुमार दोङ, सुदान मोक्तान, गीता पन्त र रेणु बजागाईंलाई पनि सोही रकम बराबर नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । सो अवसरमा जिल्ला कृषि विकास कार्यालय, धुलिखेलका वरिष्ठ कृषि विकास अधिकृत दीपक पौडेलले मुलुकमा खेती प्रणाली परम्परागत भएकाले कृषिमा निर्यात बढेको उल्लेख गर्दै काभ्रेपलाञ्चोकमा ७० प्रतिशत जमिनमा आकासे पानीको भरमा खेती हुने गरेको बताए । रासस
प्रकाशित मिति: २५ श्रावण २०७३, मंगलवार १४:३६