जुम्ला, २४ साउन ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले अवैध रुपमा वनलसुन संकलन तथा ओसार पसार गरिरहेका ११ जनालाई नियन्त्रणमा लिइएको छ । पट्मारा गाविस ३ वाट उर्थुचौतारा हुदै सदरमुकाम खलंगा तर्फ वनलसुन ल्याउदै गरेको अवस्थामा प्रहरी नायव उपरिक्षक विष्णुहरी कोईराला नेतृत्वमा गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरुमा डिल्लीचौर गाविस ७ का श्रीदेवी रावत, रामसोभा रावत, पुजा रावत, झिलु रावत, लालकुमारी रावत,मैदा रावत,अगं वहादुर रावत, डिल्लीचौर ८ का पुस्पा ऐडी, सम्झना रावत, लग्नमाया रावत, र छुमचौर गाविसका गोर वहादुर रावत रहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरिक्षक विष्णुहरि कोईरालाका अनुसार उनीहरुलाई ३ सय ३३ केजी वनलसुन सहित पक्राउ गरिएको हो । अवैध रुपमा संकलन गरिएको वनलसुन ल्याइरहेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका व्यक्ति र वनलसुन वन कार्यालयमा वुझाईसकेको जनाएको छ ।
प्रहरीले उनीहरुसँग संकलन पूर्जी लगायतका कागजात फेला नपारेपछि नियन्त्रणमा लिइएको जनाएको छ । जिल्ला वन कार्यालयमा हिरासतको व्यवस्था नभएपछि अहिले उनीहरुलाई प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
प्रारम्भिक वयान अनुसार डिल्लीचौर ७ का अंगलाल रावत वन लसुन लिन गएको र जडिवुटी बोकेहरुलाई लिएर आएको जनाइएको छ ।जिल्ला वन कार्यालयले उनीहरु माथि अनुसन्धान भइरहेको जनाएको छ । सूचना अधिकारी श्यामलाल महतले अहिले नियन्त्रणमा लिइएकाहरुलाई वयान लिने कार्य चलिरहेको बताए ।
वन लसुन यार्सा पछिको सवै भन्दा महंगो जडिवुटीका रुपमा लिइएको छ । यो जिल्लाको पाटन क्षेत्रमा पाइने गरेको उनको भनाई छ । हालसालैको मूल्य अनुसार प्रति केजी १६ हजार रुपैयाँ पर्ने गरेको व्यापारीहरु बताउँछन ।
सूचना अधिकारी महतले चीनमा औषधि निर्माणका लागि यहाँको वनलसुन जाने गरेको बताए । उनले जिल्लाबाट भने यो लसुन निकै कम मात्रमा निर्यात भइरहेको बताए । जुनसुकै वनस्पति विउ झरीसकेपछि संकलन गर्नु पर्ने हुन्छ, उनले भने । भदौ महिना अघि यार्सा र गुच्ची च्याउ वाहेकको संकलन पूर्जी कसैको पनि नदिएको वन कार्यालयले जनाएको छ ।
वन कार्यालयबाट संकलन पूर्जी र ओसार पसारको लागि कुनै प्रकारको कागजात दिइएको छैन, उनले भने भदौ महिना पछि मात्रै संकलन पूर्जी लिने क्रम खुल्छ ।
वन ऐन २०४९ को (घ)अनुसार वनक्षेत्रवाट वनपैदावर हटाउन ओसार पसार गर्न वा विक्री वितरण गर्न पाईदैन । यदि कसैले अवैध रुपमा संकलन गरेको खण्डमा वन ऐनकै ५० (१) का (ग) मा उल्लेख भए अनुसार एक हजार रुपैया देखि ५ हजार रुपैया सम्म विगो भए विगो वमोजिम जरिवाना र ६ महिना कैद वा दुवै हुन सक्ने व्यवस्था छ ।
वनलसुन कसले संकलन गर्न लगाएको हो, संकलन पूर्जी छ या छैन भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी कार्यालय जुम्लाले जनाएको छ । अहिले जिल्ला वन कार्यालयमा बरामद गरिएको वनलसुन जिल्ला प्रशासन, चन्दननाथ नगरपालिका र जिल्ला प्रहरी कार्यालयको प्रतिनिधिको उपस्थितिमा वन कार्यालय जुम्लाले तौल्न शुरु गरेको छ ।
अवैध रुपमा ओसार पसार गरेको वनलसुन जिल्ला वन कार्यालय जुम्ला परिसरमा : डिवी वुढा ।
प्रकाशित मिति: २४ श्रावण २०७३, सोमबार १७:३२