विभागका प्रमुख डा विवेक आचार्यले मेसिनको कोबाल्ट सोर्स र कम्प्रेसरले काम गर्न नसक्ने भएपछि रेडियसन पद्धतिद्वारा उपचार गर्नुपर्ने बिरामी भर्ना गर्न छाडेपछि बिरामी पहिलेको दाँजोमा कम आउने गरेको बताए ।
दैनिक ६० देखि ७० जना क्यान्सरका बिरामी आउने गरेकोमा अहिले दैनिक ३० देखि ४० जना बिरामी मात्र आउने गरेको प्रमुख डा आचार्यको भनाइ छ ।
देशका विभिन्न भागबाट सस्तोमा उपचार पाउने आशामा वीरमा आउने गरीब जनता अस्पतालमा मेसिन बिग्रेर सेवा नै बन्द गर्नुपर्ने अवस्था आए पनि मन्त्रालय र सरकारले नयाँ मेसिन खरिदमा चासो नदिएको विभागमा कार्यरत चिकित्सकले गुनासा गरेका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा गणेश गुरुङले मेसिन नहुँदा क्यान्सर विषयमा अध्ययन गर्दै गरेका विद्यार्थी पनि समस्यामा परेको बताए । उनले मेसिन खरिदका लागि स्वास्थ्य मन्त्रालयमा पुनः पत्राचार गरेको जानकारी दिए ।
गत आवमा सरकारले मेसिन खरिदका लागि रु १२ करोड छुट्टाएको थियो । टेण्डर प्रक्रियामा कुरा अगाडि बढ्न नसकेपछि मेसिन किन्ने कुरा सेलाएको थियो । आधुनिक प्रविधिको नयाँ रेडियसन मेसिन किन्नु परेमा करिब रु १५ करोड चाहिन्छ ।
उपकुलपति डा गुरुङले अहिले सबै प्रक्रिया पूरा भई मेसिन आउन अझै ५/६ महिना लाग्ने बताए । विभागमा कार्यरत डा सन्ध्या चापागाईंका अनुसार नेपालमा प्रतिवर्ष ३० हजारभन्दा बढी मानिसलाई विभिन्न खाले क्यान्सर हुन्छ । त्यसमध्ये ७० प्रतिशतभन्दा बढी बिरामीलाई उपचार गर्न रेडियसन (विकिरण) पद्धतिबाट उपचार गर्नुपर्ने हुन्छ ।
नेपालमा चार वटा अस्पतालमा मात्रै रेडियसन दिएर उपचार हुने सुविधा छ । वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल र पोखराको मणिपाल अस्पतालमा रेडियसन मेसिनको प्रयोग गरेर क्यान्सरको उपचार हुन्छ । “ती सबै अस्पतालभन्दा वीर अस्पताल नै सस्तो छ”, डा चापागाईंले भने, “यहाँ बिरामीले रु पाँच हजार ५०० मा विकिरणको सहायताले उपचार पाउँछन् । बिरामीले तिर्ने त्यो रकम पनि सरकारले क्यान्सर रोगीलाई दिने रु एक लाख राहत रकमभित्रै पर्छ ।” उनले वीरमा आएका बिरामीलाई उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा रिफर गर्नुपरेको बताए ।
वीरभन्दा बाहिरका अस्पतालमा रेडियसन सहायताबाट उपचार गर्न रु २५ हजारभन्दा कम पर्छ भने निजी अस्पतालमा उपचार गर्न रु एक लाखभन्दा माथि पर्ने चिकित्सकको भनाइ छ ।
“अरु सरकारी कार्यालयमा स्रोत साधन भएर पनि कर्मचारीले काम नगरेको गुनासो सुनिन्छ”, उनले भने, “हामीलाई काम गर्छौं स्रोत साधन देऊभन्दा पनि पाइँदैन । हामीले मेसिनका लागि पटकपटक मन्त्रालयमा गई छलफल गर्ने भए पनि सुनुवाइ भएको छैन । बिरामीलाई मेसिन छैन भन्दै पठाउन निकै नराम्रो लाग्छ ।”
वीरमा आव २०७०/०७१ मा सात हजार ६८६, आव २०७१/०७२ मा सात हजार ९१९ र आव २०७२/०७३ मा सात हजार ८७७ जना क्यान्सरको बिरामी ओपिडीमा उपचारका लागि आएका थिए ।
रासस