सुर्खेत, २३ साउन ।
सुर्खेत जिल्लालाई ८ तहमा विभाजन गर्ने स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिलाई करिब २ सय सुझावहरू आएका छन् । ती मध्ये धेरैजसो गाउँपालिकाको सीमा निर्धारण सच्याउनुपर्ने सुझाव आएको छ । यसका साथै दुई वटा गाविसलाई नगरमा मिलाउनुपर्ने सुझाव पनि आएको छ भने थप दुई वटा गाविसका केही वडाहरू पनि नगरमै ल्याउनुपर्ने बताइएको छ ।
साटाखानी र गर्पन गाविसलाई नगरमै गाभ्नुपर्ने भन्दै समितिमा मागपत्र समेत आएको छ । समितिका आमन्त्रित सदस्य एवम् जिविस सुर्खेतका कार्यक्रम अधिकृत टंकप्रकाश लामिछानेले साटाखानी र गर्पन गाविसले नगरमै गाम्भनुपर्ने मागपत्र बुझाएको जानकारी दिए । साटाखानी नगरको छिमेकी गाविस भएको र प्रादेशिक औद्योगिक ग्राम स्थापनाको ठाउँ पनि भएकोले नगरमै गाभ्नुपर्ने साटाखानी गाविसवासीको माग रहेको उनको भनाइ छ ।
यदि त्यसो हुन नसके साटाखानीलाई गाउँ कार्यपालिकाको केन्द्र बनाउनुपर्ने माग पनि उनीहरुले घुमाउरो पाराले राखेको लामिछानेले जनाए । तर ती दुवै गाविसलाई नगरमा गाभ्दा अन्य क्लष्टरको जनसंख्या अपुग हुन्छ । गाउँ कार्यपालिकाको लागि जनसंख्या २५ हजार हुन आवश्यक छ । नगरमा मिसिंदा छिटो विकास हुन्छ भन्ने धारणाले गर्दा पनि नगर नजिकका गाविसहरु नगरमा आउन चाहेको हुनसक्ने उनले बताए ।
यसैगरी हरिहरपुर गाविस र लेखगाउँ गाविसका केही वडाहरु पनि नगरमा गाभ्नुपर्ने आवाज आएको छ । सुर्खेतको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि हरिहरपुर गाविस भएर बग्ने भेरी नदी जरुरी भएकोले सो गाविसका केही वडाहरु नगरमा गाभ्नुपर्ने जनाइएको छ भने लेखगाउँ नगरसँगै रहेकोले त्यो पनि नगरमा ल्याउनुपर्ने भन्दै विभिन्न छलफलहरु पनि भएका छन् । तर समितिका आमन्त्रित सदस्य लामिछाने ले भने हरिहरपुर र लेखगाउँको सम्वन्धमा भने कुनै मागपत्रहरु नआएको बताउँछन् । लेखगाउँले पनि कि नगरमा मिसिनुपर्ने, नत्र लेखगाउँ क्लष्टरको केन्द्र कुनाथरी बड्डिचौर नभइ ओदालताल हुनुपर्ने जनाइएको छ ।
समितिमा मुख्य गरी यी सुझावहरु आएको छ । यसका साथै केन्द्रहरु तोक्दा सबैको बराबरी पहुँच पुग्नुपर्ने लगायतका विषयबस्तुलाई पनि ध्यान दिनुपर्ने सुझाव आएको लामिछानले जनाए । यसैगरी तह संख्या ८ बाट बढाउनुपर्ने माग पनि उठेको छ । समितिले सार्वजनिक गरेको पहिलो खाकामाथि स्थानीय राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी र संघ–संस्थाका प्रतिनिधिहरुले विभिन्न चरणमा सुझाव सङ्कलन गरिएको छ ।
कूल ६० जनाले विभिन्न सुझाव दिएको र केहीले दोहो¥याए पनि कम्तीमा २ सय सुझाव समितिलाई प्राप्त भएको सदस्य लामिछानले जनाए । जनस्तरबाट आएका सुझावहरु पनि समेटेर आफूहरुले केन्द्रमा पठाउने र अन्तिम निर्णय नै उहींबाट हुने उनको भनाइ छ । समग्रमा सुर्खेतलाई ८ तहमा विभाजन गरिएको र भौगोलिक निर्धारणमा कुनै सुझावहरु नभए पनि गाउँपालिका, केन्द्र लगायतमा थप सुझावहरु आउन सक्ने समितिले जनाएको छ । अवको केही दिनभित्र गाउँ कार्यपालिकाको केन्द्र निर्धारणका लागि पनि छलफल गरिनेछ । अहिले सम्बन्धित क्लष्टरहरुमा केन्द्रका लागि आन्तरिक गृहकार्य गर्न गाविस सचिवहरुलाई निर्देशन दिइ सकिएको समितिले जनाएको छ ।
प्रकाशित मिति: २३ श्रावण २०७३, आईतवार १८:३१