बैङ्कक, २३ साउन । थाइल्याण्डमा नयाँ संविधानको मस्यौदा –२०१६ लागु गर्ने र दुइवटा अतिरिक्त प्रश्नका सम्बन्धमा आज राष्ट्रव्यापी जनमत सङ्ग्रह भइरहेको छ ।
करिब पाँच करोड ५० लाख बालिग मताधिकार प्राप्त थाई जनताहरु यस जनमत सङ्ग्रहमा भाग लिन पाउने छन् । जनमत सङ्ग्रहका लागि प्रयोग गरिने मतपत्रमा “के तपाईँलाई नयाँ संविधान (२०१६ स्वीकार्य छ ?” र “पूर्वनिर्धारित रणनीति अनुसार मुलुकमा निरन्तर सुधार गर्न यस संविधान लागु भएपछि गठन हुने पहिलो राष्ट्रिय सभाले पाँच बर्षे अबधिका लागि निर्वाचित हुने देशको प्रधानमन्त्री पदका लागि गरिने मतदान प्रक्रियामा प्रतिनिधि सभामा सिनेटलाई पनि संलग्न गरी मताधिकार दिने रु ? भन्ने दुइवटा मूलभूत अतिरिक्त प्रश्नः राखिएको बताइएको छ ।
स्थानीय समय अनुसार बिहान आठ बजेदेखि सुरु भइ अपरान्ह ४:०० बजेसम्म जम्मा आठ घण्टा मतदान गराइनेछ । वर्तमान प्रधानमन्त्री तथा शान्ति र सुव्यबस्था राष्ट्रिय परिषद् प्रमुख प्रायुत चान् ओ चा आफ्नी पत्नीसहित बैंककको एउटा निर्वाचन केन्द्रमा गई बिहान ०९:१० बजे मतपत्र खसालेका छन् ।
मतदान गर्ने क्रममा उहाँले सम्पूर्ण बालिग थाई जनतालाई मतदानमा सरिकभई थाइल्याण्डको अलग्गै पहिचान बनाउन र देशको भविष्य निर्माणमा सहभागी हुन आव्हान गरेका छन् ।
यसपूर्व उहाँले मतपत्रको दुईवटै प्रश्नको उत्तरमा “छ” र “हो” मा चिन्ह लगाई सकारात्मक मत प्रकट गर्ने बताउनुभएको थियो । त्यसैगरी, पूर्वप्रधानमन्त्रीहरु यिङ्गलक सिनाबात्रा तथा अभिजित भेजाजिवाले पनि मतदान गरिसकेका छन् ।
नयाँ संविधान मस्यौदा समितिका अध्यक्ष मिचाइ रुचुपानले चाहिं नोन्थाबुरी प्रान्तको एउटा निर्वाचन केन्द्रमा मतदान गरे ।
त्यस्तै, वर्तमान मन्त्रीमण्डलका सबै सदस्य, थाइल्याण्डका दुई ठूला दलका सबै प्रमुख नेता, सन् २०१३ देखि २०१४ सम्म ठूला विरोध प्रदर्शनका नेतृत्व लिई तत्कालिन यिङ्गलक सरकारलाई अप्ठ्यारोमा पार्ने विपक्षी नेता सुथेप थाग्सुबानलगायत सबैजसो राजनीतिक ब्यक्तित्वहरुले पनि मतदान गरिसकेका र सबै थाई जनतालाई मतदानमा संलग्न हुन आह्वानसमेत गरेका छन् ।
निर्वाचन आयोगका अनुसार जनमत सङ्ग्रहको प्रारम्भिक र अनौपचारिक परिणाम आज बेलुकी ९:०० बजेसम्म आइसक्ने अनुमान गरिएको छ । रासस/सिन्ह्वा