नवलपरासी, २३ साउन । नवलपरासीमा थप तीनवटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन लागू भएको छ । पछिल्लो पटक जिल्लाको नयाँ बेलहानी, गैँडाकोट र बर्दघाटको सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थान लागू भएको हो ।
नयाँ बेलहानीमा रहेको जनजागरण सामुदायिक वन, बर्दघाटको चिसापानी सामुदायिक वन र गैँडाकोटको भेडाबारी सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको जिल्ला वन अधिकृत विजयराज सुवेदीले बताए ।
नवलपरासीमा २६३ वटा समुदायिक वनको कार्ययोजना हस्तान्तरण भएको छ ।
यसअगावै नवलपरासीमा साझेदारीतर्फ बुद्धशान्ति साझेदारी वन, मध्यबिन्दु साझेदारी वन र जनजागरण सामुुदायिक वनमा समेत वन वैज्ञानिक व्यवस्थापनको कार्य भइसकेको छ भने नवलपरासीको गैँडाकोट अमरापुरीमै रहेको सुन्दरी सामुदायिक वनमा पनि वैज्ञानिक वन व्यवस्थापन लागू हुने तयारीमा रहेको छ ।
वैज्ञानिक वन व्यवस्थापन लागू नहुँदा बुढा, ढलापढा, सुकेका रुख खेर गएको अवस्थामा वनको वैज्ञानिक व्यवस्थापनबाट वनको हैसियतमा सुधार र काठको आपूर्ति पूरा हुने, सरकारलाई राजस्व सङ्कलनमा वृद्धि, स्थानीय तहमा रोजगारी सिर्जना हुने जिल्ला वन अधिकृत सुवेदीको भनाइ छ ।
वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत एउटा सामुदायिक वनमा ८० वटा प्लट गराएर ८० वर्षमा एक पटकमा एउटा प्लटबाट रुख उत्पादन गर्ने गरी योजना बनाएर काम गर्ने गरिन्छ ।
वनको वैज्ञानिक व्यवस्थापनअन्तर्गत वन स्रोत सर्वेक्षण, रुख नक्साङ्कन, पुनरउत्पादन गर्ने क्षेत्रमा रहेका रुखको गणना, प्रजाति, व्यास उचाइ र गुणस्तरसमेत मापन गर्ने गरिन्छ । वनको वैज्ञानिक व्यवस्थापन गर्न आवश्यक अग्निरेखा निर्माण, पुनरउत्पादन कटान भएको क्षेत्रमा तारबार संरक्षण तथा पुनरउत्पादन अभिवृद्धि कार्यक्रमसमेत पूरा गर्ने गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।
वनको वैज्ञानिक व्यवस्थापन कार्य सम्पन्न गर्न प्रारम्भिक चरणदेखि पुनरउत्पादन कटान कार्यसम्मका काम गरिने वनको वैज्ञानिक व्यवस्थापन स्रोत व्यक्ति एवम् सहायक वन अधिकृत प्रमोद भट्टराईको भनाइ छ ।
अन्य जिल्लामा समेत वैज्ञानिक व्यवस्थापन कार्य सरु गरिएको भए पनि नवलपरासीमा यसवर्षबाट पुनरउत्पादन कटान कार्यले समेत पूर्णता पाइसकेको छ ।
विसं २०६८ देखि कपिलवस्तुबाट वैज्ञानिक वन व्यवस्थापन सुरु भएको हो । अहिले कैलाली, नवलपरासी, मोरङ, रूपन्देहीमा वन व्यवस्थापन कार्य सुरु गरिएको छ । रासस