काठमाडौ २३ साउन – नेपाल राष्ट्र बैङ्कले जारी गर्ने तीनमहीने ट्रेजरी बिल्सको बट्टादर (डिस्काउण्ट रेट)मा विस्तारै वृद्धि देखिन थालेको छ । गत असार २१ मा लगभग शून्यको हाराहारीमा रहेको ट्रेजरी बिल्सको भारित औसत बट्टादर साउन तेस्रो सातासम्म आइपुग्दा करीब शून्य दशमलव २ प्रतिशतभन्दा माथि पुगेको छ । असार २१ मा शून्य दशमलव ०००४ प्रतिशत रहेको सो दर साउन १८ गते शून्य दशमलव २३१३ प्रतिशत पुगेको हो । साउन ११ गते त्यो बट्टादर शून्य दशमलव १३२८ प्रतिशत थियो ।
ट्रेजरी बिल्सको बट्टादर बढ्नुले वित्तीय प्रणालीमा ऋणको माग बढ्दै गएको वा तरलता कम हुँदै गएको सङ्केत गर्छ । भारित औसत बट्टादरको प्रवृत्तिले गत आवको अन्तिम सातामा वित्तीय प्रणालीले भोगेको अधिक तरलताको अवस्था चालू आवको शुरूसँगै विस्तारै कम हुँदै गएको देखाउँछ । त्यसैगरी साउन दोस्रो सातादेखि लगानीयोग्य तरलतामा विस्तारै चाप बढेको सङ्केत थप बढेको बट्टादरले गर्छ । वित्तीय प्रणालीमा लामो समयदेखि तरलता बढ्दै गए पनि लगानीका नयाँ क्षेत्र पहिचान हुन नसक्दा बैङ्क तथा वित्तीय संस्था ज्यादै कम प्रतिफल प्राप्त हुने ट्रेजरी बिल्समा लगानी गर्न बाध्य थिए ।आर्थिक अभियान दैनिकमा खबर छ ।
राष्ट्र बैङ्कले बोलकबोलमा विक्री गर्ने अल्पकालीन ऋणपत्र वा ट्रेजरी बिल्समा सबैभन्दा कम बट्टादर प्रस्ताव गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूले मात्र खरीद गर्न पाउँछन् । बजारमा ऋणको माग जति बढ्दै गयो उत्ति नै बट्टादर पनि वृद्धि हुँदै जान्छ । साउन पहिलो साता शून्य दशमलव ०९४६ प्रतिशत रहेको बट्टादर दोस्रो र तेस्रो साता लगातार बढ्नुले बजारमा ऋण लिनेको सङ्ख्या वा लगानीको माग वृद्धि हुँदै गएको देखाउँछ । ती २ साताको अन्तरालमा नेपाल राष्ट्र बैङ्कले बजारबाट करीब २० अर्ब रुपैयाँ प्रशोचन गरेकाले पनि तेस्रो साता तलरता कम देखिएको हो । यद्यपि २० खर्बको हाराहारी निक्षेप परिचालन भएको वित्तीय प्रणालीमा २० अर्ब खिच्दैमा मात्र ब्याजदरमा चाप नपर्ने बैङ्करहरू बताउँछन् ।
बैङ्क तथा वित्तीय संस्थाले विभिन्न प्याकेजमार्फत लगानी बढाउन थालेको र राष्ट्र बैङ्कले पनि रिभर्स रिपोमार्फत तरलता प्रशोचन गरिहेकाले बजारमा तरलता कम भएको एक बैङ्करले बताए । गत आवको अन्तिम साता विकास आयोजनाहरूमा खर्च भएको ठूलो रकम भुक्तानी भएर बजार तरलता बढेको अर्थ मन्त्रालयका अधिकारीहरूको भनाइ छ । तर, नयाँ आर्थिक वर्ष शुरू भएसँगै करदाताहरूले असारमा गरेको कारोबारको मूल्य अभिवृद्धि करमार्फत ठूलो रकम सरकारी खातामा जम्मा गरेकाले पनि बजारमा तरलता कम हुन थालेको उनीहरूको भनाइ छ ।
यद्यपि बजारमा तरलताको चाप भने अझै कम भएको छैन । यो साता राष्ट्र बैङ्कले रू. २ अर्बको ९१ दिने ट्रेजरी बिलका लागि बोलकबोल आह्वान गर्दा रू. ११ अर्बको प्रस्ताव आउनुले यसको पुष्टि गरेको छ । त्यसका लागि लगानीकर्ताले न्यूनतम शून्य दशमलव १० प्रतिशतदेखि अधिकतम शून्य दशमलव २९९८ प्रतिशतसम्म बट्टादर प्रस्ताव गरेका थिए ।
त्यसका आधार भारित औसत बट्टादर शून्य दशमलव २३१३ हुन आएको हो ।
दोस्रो साता रू. ५० करोडको ९१ दिने ट्रेजरी बिलमा रू. ४ अर्ब २ करोडको प्रस्ताव परेको थियो । त्यसमा न्यूनतम शून्य दशमलव १० देखि अधिकतम शून्य दशमलव २००१ प्रतिशत सम्म बट्टादर प्रस्ताव भए पनि भारित औसत भने शून्य दशमलव १३२८ थियो ।
प्रकाशित मिति: २३ श्रावण २०७३, आईतवार ०६:५६