पोखरा, २२ साउन । गत वर्षको साउन १२ गतेको बाढी पहिरोसँगै आवतजावत गर्ने पुल बगाएपछि कास्कीको चापाकोट गाविस र आसपासका सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।
वर्षातको समयमा उलिर्एर आउने हर्पन र खहरे खोला तर्न नसक्दा आधा घण्टामा पुगिने पोखरा तीन घण्टाको बाटो घुमेर आउनु चापाकोटवासीको दैनिकी बनेको छ । चापाकोट क्षेत्रका बासिन्दालाई घरायसी समान किनमेल गर्न समस्या भएको छ भने पढ्न आउने विद्यार्थी प्रत्यक्ष मारमा परेका छन् ।
केही दिनअघिको लगातारको वर्षाका समयमा पानीकै कारण त्यस क्षेत्रबाट सबैभन्दा नजिक पर्ने सिद्धबराह उमावि माझथुममा पढ्न आउने विद्यार्थीको पठनपाठनसमेत रोकिएको स्थानीय पञ्चकोसी निमाविका प्रधानाध्यापक मातृकाप्रसाद पराजुलीले बताए ।
गत वर्षको बाढी पहिरोका कारण चापाकोट र आसपासका माझथुम, कटहरे, मादीवाङ, चनौटे, ठुलाखेत, ठुलाचौर, वाम्दीलगायत स्थानका धेरै झोलुङ्गे पुल बगाएको थियो । पुल नहुँदा चापाकोट र यस आसपासका औसेलुचौर, खोरपाखा, घडेरी, ओखलढुङ्गालगायत स्थानका बासिन्दा समस्यामा परेका छन् ।
स्थानीय समाजसेवी एवम् पञ्चकोशी निमावि चापाकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पराजुलीले बगाएका पुल बन्न नसक्दा यस क्षेत्रका बासिन्दाले धेरै दुःख व्यहोर्नुपरेको बताए । उनले राज्यस्तरबाट तत्काल पुलको निर्माण कार्यलाई अघि बढाउन आग्रह गरे । रासस