काठमाडौ २१ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको शपथ लिएकै दिन शेयरबजार परिसूचक ४५ दशमलव १२ अङ्कले ओरालो लागेको छ । काङ्ग्रेस र माओवादी केन्द्रको गठबन्धनमा नयाँ सरकार गठनको गृहकार्य शुरू भएसँगै ऋणात्मक देखिन लागेको शेयरबजार प्रधानमन्त्रीले शपथ लिएकै दिन उच्च अङ्कले उठ्यो । शेयरबजारमा सूचीकृत सबै समूहका सूचकमा उच्च अङ्कले घटे पनि समग्र परिसूचक भने २ दशमलव ४९ प्रतिशत मात्र घटेर बन्द भयो ।
बजारमा सूचीकृत कम्पनीहरूले धमाधम गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरिरहेको समयमा बजार घट्नुको कारण राजनीतिक नै भएको विश्लेषण गरिएको छ । यसले उदार र खुला बजार अर्थतन्त्रको हिमायती नेपाली काङ्ग्रेस र हिंसात्मक आन्दोलन र रक्तपातबाट शक्तिमा पुगेको माओवादीबीच सत्तासमीकरण मिले पनि आर्थिक तथा नीतिगत समीकरण नमिलेको सङ्केत गरेको छ । गत सातासम्म लगातार उकालो लागिरहेको शेयरबजार आइतवारदेखि तीव्र गतिमा घट्न थालेको हो । ‘सरकारको नेतृत्व माओवादीले गरे पनि अर्थ मन्त्रालय काङ्ग्रेसले पाउने आशमा गत सातासम्म लगानीकर्ताहरू ढुक्क थिए । तर, अर्थ पनि माओवादीको भागमा गएपछि लगानीकर्ताको विश्वास डगमगाएको जस्तो देखिन्छ,’ एक विश्लेषकले भने । सूचीकृत कम्पनीको वार्षिक वित्तीय प्रतिवेदन र उनीहरूको लाभांश दिनसक्ने क्षमता हेर्दा अहिले बजार घट्नुपर्ने कुनै कारण नै नभएको उनको भनाइ छ ।आर्थिक अभियान दैनिकमा खबर छ ।
कतिपय लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले पनि बजारमा शेयरको माग कम भएको हुन सक्ने भनाइ पनि आएका छन् । बैङ्क तथा वित्तीय संस्थालगायत बीमा पनि राम्रो अवस्था भएको अवस्थामा विनाकारण शेयरबजार घटेको पुराना शेयर लगानीकर्ता अमृतनाथ रेग्मीले भने । आइतवारदेखि क्रमशः घट्न थालेको शेयरबजार बिहीवारसम्म १ सय अङ्कभन्दा बढीले घटेको छ । आइतवार १५ दशमलव ७६ अङ्कले घटेको शेयरबजार सोमवार १७ दशमलव ३ अङ्कले ओर्लियो भने मङ्गलवार र बुधवार क्रमशः १८ दशमलव ९४ र १२ दशमलव ७५ अङ्कले ओर्लिएको छ । बजार सुस्ताएको यो अवस्थालाई ब्रोकरहरूले भने बजार करेक्शन हुन लागेको बताएका छन् । बजार बढ्दा बढी मुनाफा आशमा लगानीकर्ताहरू हौसिने र बजार खुम्चँदा कम लगानी गर्ने संस्कारले पनि बजार घट्न गएको एक ब्रोकरको विश्लेषण छ ।
असार पहिलो सातासम्म १ हजार ३४ अङ्कमा रहेको बजार परिसूचक साउन दोस्रो साता १ हजार ८ सय ८१ सम्म पुगेर घट्न थालेको हो । ‘अहिले १ सय अङ्क घट्दा लगानीकर्ता आतिएका मात्र हुन्,’ विश्लेषक रवीन्द्र भट्टराईले भने, ‘अझै केही घटे पनि डराउनु पर्दैन ।’ यद्यपि त्यस्तो अवस्था नआउने उनको तर्क छ । आगामी साताबाट बजारमा माग बढ्ने देखिएकाले ढुक्क भएर शेयर किन्न सकिने उनले बताए । ‘मूल्य केही घटेको मौकामा वित्तीय अवस्था राम्रो भएका तथा राम्रो नाफा कमाएका कम्पनीको शेयर खरीद गर्न सल्लाह दिन्छु,’ उनले भने ।
बजार परिसूचकसँगै बजारमा शेयरको कारोबार रकम पनि घटेको छ । बिहीवार बजारमा १ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ । बजार विविध कारणले घटे पनि लगानीकर्ताहरू भने ‘पर्ख र हेर’को अवस्थामा रहेको उनीहरूको विश्लेषण छ । राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत चेक डिस्काण्टमा शेयर किनबेच गर्न नपाइने व्यवस्था गरेको र बजारमा कालोधन प्रवेश गरेको आशङ्कामा धितोपत्र बोर्डले अध्ययन शुरू गरेकाले पनि लगानी घट्नमा सघाउ पुर्याएको ब्रोकर एशोसिएशनका पूर्वअध्यक्ष अञ्जनराज पौड्यालले बताए । ‘साथै लगानीको स्रोत खोल्नुपर्ने बाध्यताले पनि लगानीकर्तालाई द्विविधामा पारेको छ,’ उनले भने ।
प्रकाशित मिति: २१ श्रावण २०७३, शुक्रबार ०६:४६