चौतारा, २० साउन । सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित परिवारमध्ये हालसम्म तीन हजार ४३५ जनाले मात्र आवास पुनःनिर्माणको प्रथम किस्ता अनुदान प्राप्त गरेका छन् ।
जिल्लाका दुई नगरपालिका र ६८ गाविसमध्ये चौतारा नगरपालिकाका केहीले मात्र प्रथम किस्ताबापत रु ५० हजार अनुदान प्राप्त गरेका हुन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विशेष सम्पर्क कार्यालयका अनुसार हालसम्म ६० हजार ९५२ जनासँग अनुदानको सम्झौता सम्पन्न भएको छ । साथै १२ हजार ४१८ जनाको गुनासोसमेत दर्ता भएको छ ।
विशेष सम्पर्क कार्यालयका अनुसार चौतारा र मेलम्ची–२ नगरपालिका र ५१ गाविसमा अनुदान सम्झौताको काम सम्पन्न भएको छ । बाह्र गाविसमा सम्झौता गर्ने काम जारी रहेको छ भने चार गाविसमा सुरु हुन बाँकी रहेको छ ।
एक गाविस विविध कारणले स्थगित रहेको छ । प्रथम किस्ताबापत रु १७ करोड १७ लाख ५० हजार निकासा पठाइएको छ ।
इन्टरनेटको गडबडीले कम्प्युटरमा सर्भर नचल्ने कारणले पनि भूकम्पपीडितले समयमै अनुदान प्राप्त गर्न नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कम्प्युटर सर्भर चलेपछि व्यक्तिपिच्छे खातामा रकम पठाउनुपर्ने र रुजु गर्न मात्र प्रतिव्यक्ति डेढ मिनेट समय खर्चिनुपरेको प्रमुख कोष नियन्त्रक दिवाकर घिमिरेले बताए ।
अनलाइनको व्यवस्था भएमा सहज हुने थियो, प्रमुख घिमिरेले भने – “रातदिन खटिँदा पनि लाभग्राहीको काममा ढिलाइ भइरहेको हुँदा यही तरिकाले काम गर्ने हो भने करिब तीन वर्षसम्म समय लाग्ने देखिन्छ ।”
जिल्लामा लाभग्राहीको सङ्ख्या ७८ हजार ४८४ जना रहेका छन् भने ९५ प्रतिशत घर पूर्णरुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले जानकारी दिए । रासस