जिल्लामा क्रियाशील अन्य दलले राहत उठाउने योजना बनाएका छन् । राष्ट्रिय जनमोर्चाले अधिकारीचौरका बाढी प्रभावित ५५ घरपरिवारलाई रु पाँच/पाँच हजारका दरले राहत वितरण गरेको छ ।
जनमोर्चाका सांसद् मीना पुन, केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानालगायतको टोलीले प्रभावित क्षेत्रमै पुगेर राहत रकम प्रदान गरेको जनमोर्चा बागलुङका सचिव धर्मबहादुर कुँवरले जानकारी दिए । काँग्रेस बागलुङले पनि सोमबार र मङ्गलबार गरी दुई दिन राहत सङ्कलन गरेको छ । सदरमुकाममा गरिएको घरदैलो अभियानबाट रु एक लाख १३ हजार ८८९ सङ्कलन भएको काँग्रेसका जिल्ला सदस्य डिलप्रसाद शर्माले बताए । जिल्लाको पश्चिम भेगका बाढी प्रभावित गाविसमा पुगेर सङ्कलित राहत वितरण गरिने उनको भनाइ छ । यस्तै, नेकपा (एमाले) बागलुङले पनि राहत सङ्कलन अभियान चलाएको छ । हालसम्म रु एक लाख ५० हजार एक सय सङ्कलन भएको कार्यालय सचिव शिव शर्माले जानकारी दिए ।
दलहरुले प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गर्ने कार्यक्रम बनाएका छन् । “बाढी प्रभावितहरुको राहतमा सबै जुट्नुपर्ने बेला छ, नागरिकको समस्यामा दल साथमा हुनुपर्छ” – काँग्रेस बागलुङ सभापति दीपेन्द्रबहादुर थापाले भने ।
नागरिकको मतबाट नेतृत्व र पदमा पुग्ने दलहरुले उद्धार र राहतमा देखाएको सक्रियतालाई धेरैले सकारात्मक ठानेका छन् । गैरदलीय क्षेत्रबाट पनि बाढी प्रभावितको राहतका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् । सरकारीस्तरबाट पहिलो चरणको राहत सामग्री वितरण गरिसकिएको छ ।
सडक मार्ग अवरुद्ध भएपछि नेपाली सेनाको हेलिकप्टरबाट राहत पुर्याइएको थियो । विभिन्न गैरसरकारी संस्था, व्यावसायिक संस्था, पत्रकार लगायतले पनि बाढी प्रभावितका लागि राहत सङ्कलन गरिरहेका छन् । विदेशमा रहेका बागलुङवासी नागरिक र तिनका संस्थाले पनि राहत जुटाउन सुरु गरेका छन् । अघिल्लो साताको अविरल वर्षाका कारण जिल्लाका पश्चिम भेगका आधा दर्जन गाविसमा बाढीले ठूलो क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार १२० भन्दा बढी घरमा बाढीले क्षति पु¥याएको छ । डेढ सय बढी घर बाढीको उच्च जोखिममा छन् । करोडौँको भौतिक सम्पत्ति नाश भएको छ । सबैभन्दा बढी अधिकारीचौर र बोङ्गादोभान गाविसमा क्षति पुगेको छ । विभिन्न ठाउँमा गएको पहिरोमा परी जिल्लाका छ जना नागरिकले ज्यानै गुमाएका छन् ।
रासस