समितिको अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गर्दै बाढीका कारण झापामा भएका क्षती न्यूनिकरणका प्रयासको समीक्षा पनि गरियो ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले झापामा बाढीले १७ गाविस र छ नगरपालिका गरी एक हजार ४५६ घरपरिवारलाई प्रभावित बनाएको जसमा ३१ घरपरिवार पूर्णरुपमा विस्थापित भएको जानकारी दिए ।
उनले बाढीपीडितलाई २५७ थान कम्बल, ५११ थान त्रिपाल, चामल नौ हजार ३०० केजी, दाल एक हजार ३९५ केजी, नुन ४६५ केजी र खानेतेल ९१२ लिटर वितरण गरेको जानकारी दिँदै दोस्रो चरणमा ५११ परिवारलाई राहत बाँड्नुपर्ने जानकारी दिए ।
यसैगरी, जिल्ला कृषि विकास कार्यालय झापाका वरिष्ठ अधिकृत मेघनाथ तिमल्सेनाले झापामा बाढीले ६०० बिगाहा खेत कटान गरेको, एक हजार ७३० बिगाहा खेतलाई डुबानमा पारेको र १३३ बिगाहा खेतमा बालुवाले पुरेको जानकारी दिँदै डुबानमा परेका कृषकलाई पुनः धान रोप्न १० क्विन्टल र ५० केजी धानको बीउ वितरण गरेको जानकारी दिए । उनले रु ४४ लाख लागत बराबरको जलाशय क्षेत्र पोखरी पनि नष्ट भएको पनि जानकारी दिए ।
कार्यक्रममा चारआलीस्थित नेपाली सेनाका प्रमुख खेमनारायण पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा, भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरे, महिला विकास अधिकृत इन्दिरा ओझा, सशस्त्र प्रहरीका नायब उपरीक्षक प्रेम प्रसाईं लगायतले वर्षा र बाढीका कारण भएको जनधनका क्षति बारेमा जानकारी दिएका थिए ।
रासस