काठमाडौ २० साउन– पछिल्लो समय नेपालका शहरी क्षेत्रमा जग्गा खरीदविक्री गर्नेको सङ्ख्या तीव्र रूपमा बढेको छ । जग्गा खरीदविक्री बढेसँगै मूल्य पनि अकासिएको छ । जग्गाको मूल्य छिटोछिटो बढेकाले वास्तविक जग्गा खरीदकर्ताभन्दा मुनाफा आर्जन गर्ने हिसाबले जग्गामा लगानी गर्नेहरू अत्यधिक बढेको घरजग्गा एजेण्ट सङ्घ नेपाल (रियान)का केन्द्रीय अध्यक्ष ईश्वरप्रसाद खरेलले बताए । यसले वास्तविक जग्गा खरीदकर्ता भने मारमा परेका छन् ।आर्थिक अभियान दैनिकमा खबर छ ।
जग्गाको खरीदविक्री बढेसँगै गत आर्थिक वर्ष २०७२/७३ मा रजिष्ट्रेशन शुल्कबाट रू. ११ अर्ब ९० करोड ९९ लाख सङ्कलन भएको छ । यो अघिल्लो आव २०७१/७२ को भन्दा १ अर्ब २ करोड ७८ लाख रुपैयाँ बढी हो । आव २०७१/७२ मा १० अर्ब ८८ करोड १० लाख रुपैयाँ रजिष्टे«शन शुल्क सङ्कलन भएको भूमिसुधार तथा व्यवस्थापन विभागले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
२०७१ सालदेखि अकासिएको जग्गा खरीदविक्री २०७२ वैशाखमा गएको भूकम्पको केही महीनापछि पुनः अकासिँदै गएको विभागका निर्देशक सुशीलप्रसाद आचार्यले बताए । देशभरका मालपोत कार्यालयबाट उठेको रजिष्टे«शन शुल्कलाई आधार मान्दा यस्तो अवस्था देखिएको हो ।
भूकम्पपछि उपभोक्ताले घरभन्दा जग्गा किन्न रुचि देखाएका छन् । २०७२ सालको विनाशकारी भूकम्पका कारण बढ्नुपर्ने अनुपातमा भने आव २०७२/७३ मा जग्गा खरीदविक्री बढ्न नसकेको उनको भनाइ छ । नेपालका प्रमुख शहरहरू काठमाडौं उपत्यकाका तीन शहर, पोखरा, चितवन, बुटवललगायतमा जग्गा खरीदविक्रीको कारोबार बढी भएको देखिएको छ । विदेशबाट भित्रने रेमिट्यान्सले ठूला शहरी क्षेत्रमा जग्गाको कारोबार बढाएको आचार्यको भनाइ छ । ‘धेरै पैसा हुनेले सीधै ठूला शहरमा जग्गा खरीद गरिरहेका छन्,’ उनले भने, ‘थोरै पैसा हुनेले पनि गाउँ तथा साना शहरमा जग्गा खरीदविक्रीपछि रकम जम्मा गरी फेरि ठूला शहर पस्ने गरेको देखिएको छ ।’
भूकम्पअघि काठमाडौं उपत्यकामा कतिपय घरमा २/३ भाइका परिवार सँगै बस्दै आएका थिए । भूकम्पपछि घर चर्किंदा सबै भाइ अलगअलग बस्नुपर्ने स्थिति आएकाले पनि जग्गा खरीदविक्री बढेको खरेल बताउँछन् । त्यस्तै अहिले बैङ्कहरूले घरजग्गा खरीदका लागि कम दरमै ऋण दिइरहेकाले पनि यसको खरीदविक्री बढेको उनले बताए ।
प्रकाशित मिति: २० श्रावण २०७३, बिहीबार ०७:५८