जाजरकोट १७, साउन
केही वर्षअघिसम्म जिल्ला बाहिरबाट करोडौं मूल्यको तरकारी आयात गर्नुपर्ने जाजरकोटमा पछिल्लो समय तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएको छ । जिल्ला कृषि विकास कार्यालय र अन्य संघ–संस्थाले तरकारी खेतीको लागि किसानहरुलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम सञ्चालन गरेपछि मौसमी तथा वेमौसमी तरकारी खेतीबाट जिल्ला आत्मनिर्भर बनेको हो ।
आर्थिक वर्ष ०७२÷०७३ मा जिल्लामा ३४ करोड ६५ लाखको तरकारी उत्पादन भएको छ । जिल्लाको आठ सय २५ हेक्टर क्षेत्रपmलमा ११ हजार पाँच सय ५० मेट्रिकटन तरकारी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । त्यस मध्य २ हजार ८ सय ८७ मेट्रिकटन तरकारी जिल्ला बाहिर निर्यात हुने गरेको कार्यालयले जनाएको छ । जिल्ला बाहिर निर्यात भएको तरकारीबाट ८ करोड ६६ लाख रुपैयाँ जिल्लामा भित्रिएको वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले बताए । जिल्लामा ९२ प्रतिशत जनसंख्या कृषि पेसामा संलग्न रहेकोमा तरकारी खेतीमा १० प्रतिशत जनसंख्या संलग्न रहेको वरिष्ठ कृषि विकास अधिकृत रोकायले जानकारी दिएका छन् ।
जिल्लामा वर्षे तरकारी, मौसमी तरकारी तथा बेमौसमी तरकारी खेती हुने गरेको छ । थोरै लगानीबाट छोटो समयमै राम्रो आम्दानी तथा उत्पादन हुने भएपछि तरकारी खेतीमा कृषकको आर्कषण बढ्दै गएको हो । कार्यालयले जिल्लाको खलंगा, कालेगाउँ, पिपे, मैदे, रिसाङ, जगतीपुरको पुल मटेला, काँसतरा, पुन्माको इवर, भेरेखर्क,पाँचकाटिया, तिमिले, किटेनी, झाप्रा,सीमा क्षेत्रलाई तरकारी खेतीको लागि पकेट क्षेत्र घोषणा गरेको छ । उत्पादित तरकारी जिल्ला बाहिर सुर्खेत, दैलेख, नेपालगन्जमा निर्यात हुँदै आएको छ भने सदरमुकाम खलंगा, रिम्ना, कालिमाटी, थलह, रुकुमको राडिज्यूला, चौरजहारी, सल्लीबजार लगाएतका क्षेत्रहरुमा आपूति तथा खपत हुने गरेको रोकायले जानकारी दिएका छन् । व्यवसायिक तरकारी खेतीले गाउँको मुहार फेरेको छ ।
कृषिमा आधुनिकीकरण गर्न कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्लाष्टिक घर वितरण, ५० प्रतिशत अनुदानमा हाइव्रिट बीऊ वितरण, स्थानीय स्थरमा हाटबजारको व्यवस्थापन तथा सङ्कलन केन्द्रको व्यवस्थापन सञ्चालन, साना तथा सीमान्तक्रित कृषकलाई तरकारीको कम्पोजिट किट वितरण, कृषकको क्षमता वृद्धि गर्न तालिम गोष्ठी प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । काउली, बन्दा, टमाटर, गोलभेडा, काँक्रा, फर्सी, लौका, घिरौला, आलु प्याज लगायत मौसमी तथा बेमौसमी तरकारीको खेती उत्पादन हुने गरेको छ ।
जिल्लामा पाँच सय बढी व्यवसायिक तरकारी खेती कृषकले व्यवसायिक रुपमा खेती गर्दै आएका छन् । एक कृषकले वार्षिक २ लाख देखि ५ लाखसम्म आम्दानी गर्ने गरेका छन । परम्परागत खेती गर्दै आएका कृषकहरु छोटो समयमा धेरै आम्दानी हुने भएपछि तरकारी खेतीमा आर्कषण बढेको देखिन्छ । परम्परागत खेती बालीले जीवन निर्वाह गर्न मुस्किल भएपछि कृषकहरुले तरकारी खेतीमा जोड दिँदै आएको छन् । व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेपछि आम्दानी राम्रो भएको कृषक मनवीर रोकायले बताए ।
प्ररम्परागत रुपमा धान, मकै, गहुँ, जौं, कोदो, फापर खेती गर्दै आएका जिल्लाका कृषकहरु आजभोलि १२ महिना तरकारी खेतीमा जुटेको पाइन्छ । तरकारीले घर व्यवहार चलाउन सहज हुँदै आएको बताइएको छ । तरकारी खेती थालेपछि यहाँका कृषकको जीवनस्तरमा समेत परिवर्तन आएको छ । जिल्लामा सडक विस्थार तथा बजारीकरण बढ्दै गएपछि तरकारीको खपत पनि बढेको छ । दुर्गम गाउँ वस्तीमा तरकारी खेतीको माग बढेको छ । त्यसैगरी यसवर्ष जाजरकोटमा ४१ करोड ६४ लाखको आलु उत्पादन भएको छ । ९ सय ८० हेक्टर क्षेत्रफल जमिनमा १६ हजार ६ सय ३६ दशमलव ४ मेट्रिकटन आलु उत्पादन भएको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: १८ श्रावण २०७३, मंगलवार १३:५५