काठमाडौ १८ साउन – २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट भत्किएको धरहरापरिसरमा ३ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक धरहरा बन्ने भएको छ । अब बन्ने नयाँ धरहरामा पर्यटक लिफ्टबाट सीधैं धरहराको टुप्पोमा पुग्न सक्ने छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमवार एक कार्यक्रमको आयोजना गरी नयाँ धरहरा निर्माण योजना सार्वजनिक गरेको हो ।
कार्यक्रममा पर्यटनमन्त्री आनन्द पोखरेलले नयाँ धरहरा आठ रिक्टर स्केलसम्मको भूकम्पले समेत नहल्लाउने गरी बनाइने बताए । ऐतिहासिक महत्त्व बोकेको धरहरा गतवर्षको भूकम्पले भत्काएपछि कसले बनाउने भन्ने बहस चलेको थियो । ‘मेरो धरहरा म आफैं बनाउँछु’ भन्ने अभियानअन्तर्गत नेपाली जनताको पैसाबाट धरहरा बनाइने भएको हो । नयाँ बन्ने धरहरा पुरानै स्वरूपमा बनाइनेछ । धरहराले हाल ओगटेको क्षेत्रलाई विस्तार गर्दै गोश्वारा हुलाक र टक्सार कार्यालय रहेको जग्गासमेत गाभिने बताइएको छ । पाँच रोपनीमा सीमित धरहरालाई पुनर्निर्माणपछि ४२ रोपनीमा फैल्याइने भएको छ ।
आकर्षक र आधुनिक धरहरा निर्माण गरिए पनि पुरानो अवशेषलाई भने हटाइने छैन । हाल भएको धरहराको अगाडिपट्टि नयाँ धरहरा बनाइनेछ ।आर्थिक अभियान दैनिकमा खबर छ ।
धरहराको भित्री भागमा व्यापारिक केन्द्रसमेत राखिने भएको छ । नयाँ धरहरामा वरिपरि बगैंचा, सुन्धाराको धाराबाट पानी बग्ने बनाइने भएको छ । धरहरा छिर्ने बाटो हुँदै अगाडि बढ्दा छेउमा ५० फिटको पानीको फोहरा पनि देख्न सकिन्छ, जसबाट २४ घण्टा पानी प्रवाह हुन्छ । द्वारबाट भित्र छिरेपछि ‘अण्डरग्राउण्ड’मा इलेक्ट्रिक भर्याङ हुँदै तल झर्नुपर्ने हुन्छ । सुन्धाराको तीनतिरको छेउछेउ भर्याङ राखी अवलोकनकर्तालाई फोटो खिच्ने ठाउँ छाडिनेछ । यसले त्यस क्षेत्रमा पर्यटकको आकर्षण केन्द्र बनाइने मन्त्रालयको भनाइ छ ।
नयाँ धरहरामा ११ तला रहनेछ । धरहराबाट काठमाडौं उपत्यकाको ८० प्रतिशत ‘भ्यू’ देखिने ‘ग्लास’समेत राखिनेछ । धरहरामा प्रकाशको राम्रो व्यवस्था गरिने भएकाले साँझ यहाँ झलमल्ल हुन्छ । धरहराको उत्तरपट्टि तीनतले अत्याधुनिक ‘अण्डरग्राउण्ड पार्किङ’ स्थल बनाइनेछ । १ सय ३४ ओटा गाडी अट्ने उक्त पार्किङ क्षेत्रमा छिर्ने र निस्कने बाटोसमेत छुट्टै तयार पारिने भएको छ ।
यस्ता छन् आकर्षण
इतिहासलाई जीवन्त राख्न तथा र नयाँ पीँढीलाई यसबारे जानकारी दिने उद्देश्यले टक्सार कार्यालयमा रहेका पुराना मेशिन, मुद्रालाई सङ्ग्रहालय निर्माण गरी व्यवस्थित गरिनेछ । उक्त सङ्ग्रहालयमा नेपालमा मुद्रा बनाउन प्रयोग गरिएका विभिन्न मेशिन राखिनेछ ।
धरहराभित्र अब अवलोकनकर्ताले ‘मिनी थिएटर’को पनि मनोरञ्जन लिने भएका छन् । थिएटरमा पुरानो धरहराको इतिहास र अहिलेसम्मको अवस्थाबारे अवलोकनकर्तालाई जानकारी दिइनेछ ।
मिनी थिएटरमा भीमसेन थापा, महारानी त्रिपुरासुन्दरीले निर्माण गराएको धरहरा, धरहरा निर्माणको इतिहास, भत्किएपछिको अवस्थालगायतको १५ मिनेटको वृत्तचित्रसमेत देखाइनेछ ।
मन्त्री पोखरेलका अनुसार ‘मेरो धरहरा म आफैं बनाउँछु’ भन्ने अभियानअन्तर्गत हालसम्म रू. १ करोड ९५ लाख सङ्कलन भइसकेको छ । धरहरा निर्माणका लागि लाग्ने रू. ३ अर्बमध्ये सर्वसाधारणबाट सङ्कलित रू. १ करोड ९५ लाख र बाँकी नपुग रकम नेपाल टेलिकमले बेहोर्ने छ । धरहरा निर्माण कार्य ३ वर्षभित्र सम्पन्न गर्ने योजना रहेको बताइएको छ ।
प्रकाशित मिति: १८ श्रावण २०७३, मंगलवार ०७:३१