अनेरास्ववियुकी अध्यक्ष नवीना लामाको नेतृत्वमा गएको टोलीले मोरङको डाइनिया ३ र ८ का २०० परिवार र गोविन्दपुरको बाढी प्रभावित क्षेत्रमा २०० परिवारलाई आइतबार बेलुकासम्ममा राहत वितरण गरिसकेको अनेरास्ववियुका सचिव वसिम आलमले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा अनेरास्ववियुका उपाध्यक्ष शैलेस लामा, सचिव, मकर खड्का, वसिम आलम, प्रवक्ता सुधीर शर्मा, सांसद् ऋषिकेस पोखरेललगायतले चामल, चिउरा, लत्ताकपडा, वितरण गरेका थिए ।
साउन १० गते बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पस्दा डाइनिया र गोविन्दपुरका ५०० सर्वसाधारण विस्थापित भएका थिए । सो कार्यक्रममा बोल्दै अध्यक्ष लामाले बाढी प्रभावित क्षेत्रमा राहत वितरण कार्यक्रम अभियानका रुपमा लिएर अगाडि बढेको बताए ।
राजघाटमा राहत वितरण
सामाजिक क्षेत्रमा सक्रिय संस्था न्यानो अभियान उर्लाबारीले राजघाटका बाढीपीडितलाई आइतबार राहत वितरण गरेको छ ।
सरकारी निकाय मौन रहेको बेला बिचल्लीमा परेका राजघाट–३ का बाढीपीडितलाई न्यानो अभियानले राहत सामग्री वितरण गरेको हो । अभियानले सीमावर्ती क्षेत्रका २७ सन्थाल परिवारलाई राहतस्वरूप चिउरा, भुजा, चाउचाउ, पानी र ओछ्याउने म्याट वितरण गरेको हो ।
अभियानका आर्थिक संयोजक एवम् समाजसेवी तेजन खड्काको अगुवाइमा पीडितलाई प्रतिपरिवार दुई केजी भुजा, तीन केजी च्युरा, एक काटुन पानी, चाउचाउ र एक एक वटा फम वितरण गरिएको हो ।
रासस