काठमाडौ १७ साउन – दाङको नारायणपुरमा प्रस्ताव गरिएको क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल योजना अलपत्र परेको छ ।
२०६८ माघ १० गते पहिलोपटक विमानस्थल निर्माणका लागि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरसहितको प्राविधिकको टोलीले स्थलगत अध्ययन गरेको थियो ।
त्यसलगत्तै २०६८ चैत १० गते बीडीआर कन्सल्टेन्सी, काठमाडौंले नारायणपुरमा आएर दोस्रोपटक पुनः गुर्जेखोलादेखि पश्चिम हापुरखोला, उत्तरमावि निघुवारदेखि दक्षिण घोराही तुलसीपुर सडकखण्डसम्मको क्षेत्रको सर्वेक्षण गरेको थियो ।
विमानस्थल निर्माणका लागि स्थानीयस्तरबाट क्षेत्रीय विमानस्थल निर्माण समितिसमेत गठन गरिएको छ । त्यसपछि पनि पटकपटक मन्त्रालयको टोलीले अध्ययन गरेको विमानस्थल निर्माण समितिका संयोजक भक्तिराम शर्माले बताए ।
‘हामीले मन्त्रालयमा बुझ्दा यस विषयमा फाइल रोकिएको प्रतिक्रिया पाएको छ,’ उनले भने, ‘विमानस्थल बन्ने कुराले दाङवासी निकै खुशी भएका थिए ।’
जम्मा ६ किलोमिटर लम्बाइ र साढे ३ किलोमिटर चौडाइ रहेको उक्त जमीन विमानस्थल निर्माण दृष्टिले निकै उपयुक्त रहेको उनको भनाइ छ । आवश्यक पर्ने जग्गाको सर्भे भएर पनि सरकारले विमानस्थल निर्माणमा चासो नदिनु दुःखद भएको उनले बताए । विमानस्थल निर्माणका लागि त्रिपुर नगरपालिका वडा नं ५ को चागु, बरुवागाउँ, वडा नं ३ को खैरी, वडा नं २ अम्राई, चारबगिया, धैरेनी, वडा नं १ लमबरुवा र साविक हापुर गाविसका केही भागका नापी कार्यालयबाट अमिन ल्याएर जग्गाको नापजाँचसमेत भइसकेको छ ।
दाङको भूगोल, हावापानी र सुरक्षाका दृष्टिले अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्न उपयुक्त भएको शर्माले बताए । ‘दाङमा जाडो समयमा धेरै हुस्सु लाग्दैन, वर्षातमा पनि मौसम त्यति खराब हुँदैन,’ उनले भने, ‘दाङमा जुनसुकै मौसममा पनि ‘प्लेन ल्याण्ड’ गर्न सक्छ ।’ अन्तरराष्ट्रिय विमानस्थलका लागि सुरक्षाका लागि बाह्य देशसँग नजोडिएको जिल्ला उपयुक्त हुने उनको भनाइ छ ।
दाङ जिल्ला छिमेकी मुलुक भारतसँग जोडिए पनि विमानस्थल निर्माणको प्रस्ताव गरिएको दाङ उपत्यका भारतसँग जोडिएको छैन । दाङ उपत्यकाबाट भारत पुग्न चुरे पहाड काटेर देउखुरी उपत्यका हुँदै जानुपर्छ । स्थानीयको तहबाट प्रारम्भिक अध्ययन पूरा भएपछि २०६९ वैशाखमा साविक नाराणपुर गाविस, घोराही नगरपालिका, तुलसीपुर नगरपालिका र जिल्ला विकास समिति, दाङको सिफारिशसहित विमानस्थल निर्माण समितिको टोलीले मन्त्रालयमा ज्ञापनपत्र बुझाएको थियो । मन्त्रालयमा पठाइएको विमानस्थल निर्माण योजना प्रतिवेदनको फाइल रोकिएको नागरिक उड्डयन कार्यालय, दाङका प्रमुख प्रभास रञ्जनले बताए ।
विमानस्थल निर्माणका लागि तीन चरणमा अध्ययन हुने उनको भनाइ छ । चालू आर्थिक वर्षको बजेटमा दाङमा विमानस्थल निर्माण शुरू गर्ने कुनै योजना नरहेको उनले बताए । अहिले भैरहवा र सिमरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा बजेट केन्द्रित भएको उनले प्रतिक्रिया दिए ।
प्रकाशित मिति: १७ श्रावण २०७३, सोमबार ०७:२९