जुम्ला, १६ साउन ।
स्थानीय तह पुनर्संरचनामा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षण वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारणका विषयमा जुम्लाले सहमतिको सन्देश दिएको छ । जुम्लाका राजनैतिक दलका पदाधिकारीहरु र पूर्वजनप्रतिनिधिहरुको वैठकले जुम्लाको स्थानीय पुनर्संरचनाको खाका तयार पारेर एकताको सन्देश दिन सफल भएका हुन् ।
सिंगो जुम्लालाई १ नगरपालिका सहित ७ वटा गाँउपालिका रहने गरी खाका तयार पारेर प्रस्ताव पेश गर्ने तयारी भइरहेको स्थानीय तह पुनर्संरचना प्राविधि सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी राजेश पौडेलले जानकारी दिए । उनका अनुसार जिल्लाका २६ वटा गाविस र एक नगरपालिका गरेर १ नगरपालिका सहित ७ वटा गाउँपालिकाको खाका तयार भएको हो ।
पट्मारा, डिल्लीचौर, छुमचौर र पातारासी गाविसलाई पातारासी गाउँपालिका नामाकरण गर्दै डिल्लीचौर प्रशासनिक केन्द्र रहने गरी प्रस्ताव गरिएको छ । यस्तै देपालगाउँ, गज्र्यांकोट र गोठीचौर गाविसलाई गोठीचौर गाउँपालिका प्रशासनिक केन्द्र गज्र्यांकोट, घोडेमहादेव,मालिकाठाटाँ, कुडारी र रारालिही गाविसलाई मिसाएर तिला गाउँपालिका प्रशासनिक केन्द्र रारा, तातोपानी, लाम्रा, हाकु र ताम्तीलाई एक वनाएर तातोपानी गाउँपालिका प्रशासनिक केन्द्र तातोपानी निर्धारण गरिएको स्थानीय विकास अधिकारी पौडेलले बताए ।
हालको सिजा क्षेत्रलाई तिन गाउँ पालिकामा विभाजन गरिएको हो । वुम्रामाडीचौर, मालिकावोता, कनकासुन्दरी, विराट र पाण्डवगुफालाई उपरसिजा गाउँपालिका वनाइएकोमा प्रशासनिक केन्द्र विराटमा तोकिएको छ । धापा, नराकोट, शनिगाउँ गाविसलाई मिडसिजा गाउँपालिका प्रशासनिक केन्द्र नराकोट र वड्की, कालिकाखेतु र महावैपातरखोला गाविसलाई लोवार गाउँपालिका नामाकरण गर्दै कालिकाखेतु प्रशासनिक केन्द्र रहने गरी दलहरु बीच सहमति भएको हो । साविकको चन्दननाथ नगरपालिकालाई नगरपालिकामै राखिएको छ ।
प्रकाशित मिति: १६ श्रावण २०७३, आईतवार १८:०७