जाजरकोट, १६ साउन ।
नेपाल खाद्य संस्थानका जाजरकोटको तीन वटा खाद्य डिपोमा १६ बर्ष पछि कर्मचारी गएका छन् ।
नेपाल खाद्य संस्थानको जाजरकोटको रग्दा स्थित चौखा खाद्य डिपोको गोदाम जुन अहिलेसम्म मर्मत गरिएको छैन । तस्बिरः राजेन्द्र कार्की
जिल्लाको रग्दाको चौखा खाद्य डिपोमा खरीदार चेतमान कठायत, नायकवाडाको घाट खाद्य डिपोमा नायव सुब्वा दीपक अर्याल र पजारुको घोगी खाद्य डिपोमा कमानसिह राना १६ बर्ष पछि कर्मचारीको रुपमा गएका हुन् । दशेरामा डिपोमा भने अझै कर्मचारी गएका छैनन् ।
२०५७ सालमा तत्कालीन विद्रोही माओवादीका कारण विस्थापित भएका खाद्य डिपो लोकतन्त्रको स्थापना सँगै २०६३ सालमा पुनस्र्थापित भएपनि कर्मचारी गएका थिएनन् । खाद्य डिपो पुनस्र्थापना भएपनि ढुवानी अनुदानको चामल ठेकेदारले लिने र आफैले बेच्ने गरेका थिए ।
डिपोमा कर्मचारी नहुँदा अधिकांश ठेकेदारले ढुवानी अनुदानको चामल बाटोमै बेच्ने गरेका थिए । डिपोमा कर्मचारी गएसँगै चामल ढुवानी र वितरणमा सहजता हुने भएको छ । कर्मचारी डिपोमा बस्न थालेपछि स्थानीयले चामल पाउन थालेको चौखाका किशोर मल्लले बताए ।
कर्मचारी ब्यवस्थापन भएपनि खाद्य डिपोका भवन मर्मत नहुँदा खाद्य गोदाम र आवासमा समस्या देखिएको छ । रग्दाको चौखामा रहेको खाद्य डिपोको आफ्नै भवन छ तर उक्त भवन मर्मत नहुँदा चामल भाडाको घरमा राखिएको खाद्य संस्थान चौखा खाद्य डिपोका खरीदार चेतमान कठायतले बताए । उनले कार्यालयको आवास हुँदाहुँदै मर्मत अभावमा आफु पनि भाडाको घरमा बस्नु परेको बाध्यता सुनाए ।
गत आर्थिक वर्षमा उक्त भवन मर्मतको लागि खाद्य संस्थानले १ लाख ५० हजार रुपैयाँको टेण्डर गरेको थियो तर निर्माणको जिम्मा लिएका स्थानीय निर्माण व्यवसायी मनीराम दमाईले भवन टालटुल पारेर सवै रकम झ्वाम पारेको स्थानीयको भनाई छ ।
मर्मत पछि पनि भवन बस्न र गोदाम गर्न मिल्ने अवस्थामा नभएको खरीदार कठायतले बताए । तर खाद्य संस्थान जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले उक्त भवन मर्मतको लागि कम्तीमा ५ लाख खर्च हुने तर थोरै मात्र रकम पठाएकोले कार्यादेश अनुसार नै ठेकेदारले काम सम्पन्न गरेको बताएका छन् ।
प्रकाशित मिति: १६ श्रावण २०७३, आईतवार १७:४४