सुर्खेत, १६ साउन ।
आर्थिक वर्ष ०७२/७३ मा जिल्लामा नागरिकताको प्रतिलिपि लिनेको संख्याको ह्वात्तै वृद्धि भएको छ । एक वर्षमा मात्रै जिल्ला प्रशासन सुर्खेतमा नागरिकता प्रतिलिपि लिनेको संख्या ५ हजार ३ सय ९३ नागरिकता पुगेको छ । यो संख्या वर्ष भरी नागरिकता लिने संख्याको करिब ५० प्रतिशत हो ।
आर्थिक वर्ष ०७२/७३ मा नागरिकता लिने नागरिकको संख्या १२ हजार ३ सय ६४ रहेको जिल्ला प्रशासन कार्यालयले वार्षिक प्रगतिप्रतिवेदनका बारेमा जानकारी गराउन आइतबार गरिएको पत्रकार सम्मेलनमा उक्त विवरण बारे जानकारी गराइएको हो ।
नागरिकहरुमा नागरिकता प्रमाण पाइसके पछी सुरक्षितसँग राख्नु पर्छ र पछि सम्मलाई काम लाग्छ भन्ने चेतनाको अभाव र जिल्ला प्रशासनबाट पनि सजिलै सँग नागरिकता प्रमाण वितरण गरिने भएको हुँदा नागरिकताको प्रतिलिपि वितरण संख्यामा वृद्धि भएको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताए ।
उनका अनुसार जिल्लाका विभिन्न गाउँ ठाउँबाट धेरै जसो नागरिकता हराएका नागरिक आउँने भएकाले गर्दा पनि प्रतिलिपि नागरिकताको संख्यामा वृद्धि भएको हो ।
यसैगरी आर्थिक वर्ष ०७२/७३ मा जिल्ला प्रशासन सुर्खेतमा राहदानी, साधारण सेवा शुल्क लगायतबाट १ करोड २५ लाख ८५ हजार राजश्व संकलन भएको छ भने हातहतियार नवीकरण शुल्कमा १७ हजार ७ सय ५० रुपैयाँ राजश्व संकलन भएको छ ।
यस्तै संघसंस्था नयाँ दर्ता शुल्कमा ४३ हजार, नागरिकतामा हुलाक टिकट दस्तुर १ लाख ३९ हजार ८ सय १९, अन्य दण्ड, जरिवाना/परिक्षा राजश्व संकलन ६ लाख ४९ हजार ३ सय २५ गरेर १ करोड ३६ लाख ९४ हजार ८ सय ९४ कुल राजश्व संकलन उठेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए । हुलाक टिकट बाहेक खुद राजश्व आम्दानी १ करोड ३५ लाख ५५ हजार ५ सय ७५ रहेको अधिकारी श्रेष्ठले बताए ।
प्रकाशित मिति: १६ श्रावण २०७३, आईतवार १७:२७