कञ्चनपुर, १६ साउन । सर्वसाधारणको सूचना प्रविधिमा पहुँच अभिवृद्धि गर्न हुलाक कार्यालय कञ्चनपुरले सञ्चालनमा ल्याएको टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेको छैन ।
दक्ष कर्मचारीको अभाव र गुणस्तरहीन उपकरणका कारण टेलिसेन्टर सेवा प्रभावकारी बन्न नसकेका हुन् ।
फोटोकपी, लेमिनेसन, फ्याक्स, कम्प्युटर, प्रिन्ट, टेलिफोन, स्क्यानिङ र इन्टरनेट सेवा उपलब्ध गराउनका लागि खोलिएका टेलिसेन्टरमध्ये आधाभन्दा बढीले विधुत् काे समस्या र गुणस्तरहीन उपकरणका कारण सेवा प्रवाह गर्न सकेका छैनन् ।
बजारमा टेलिसेन्टरले निर्धारण गरेको दर रेटभन्दा सस्तोमा ती सबै सेवा निजी क्षेत्रले उपलब्ध गराउन थालेपछि सेवाग्राहीको अभावमा टेलिसेन्टर सेवा सञ्चालन गर्न कठिनाइ हुन थालेको हुलाक कार्यालयका सूचना अधिकारी देवसिंह सामन्तले बताए ।
जिल्ला हुलाक कार्यालय महेन्द्रनगर र कृष्णपुरमा सञ्चालनमा रहेका टेलिसेन्टरले आंशिक रुपमा आम्दानी गर्दै आए पनि पुनर्वास, बेलौरी, बेलडाँडी, झलारी, चाँदनीलगायत क्षेत्रका टेलिसेन्टर बन्द अवस्थामा रहेका छन् ।
टेलिसेन्टरका बिग्रिएका उपकरण मर्मतका लागि केन्द्रबाट बजेट नआउँदा सेन्टरको सेवा प्रवाहलाई नियमित गर्न नसकिएको कार्यालयका सूचना अधिकारी सामन्तले बताए ।
टेलिसेन्टर सेवालाई प्रभावकारी बनाउनका लागि यसको उपयोगिता र उपलब्धिका विषयमा गहन अध्ययन हुनु जरुरी रहेको छ ।
टेलिसेन्टर सेवालाई निरन्तर रुपमा सञ्चालन गर्नका लागि आवश्यक पर्ने मसलन्द र उपकरण मर्मत गर्न पर्याप्त बजेटको व्यवस्था गरिनुपर्ने हुलाक कार्यालयका कर्मचारीहरु बताउँछन् । आव २०६७/६८ मा यहाँका सात ठाउँमा टेलिसेन्टर सेवा सञ्चालनमा ल्याइएका थिए । रासस