फलेवास (पर्वत), १६ साउन । पर्वतमा सांसदहरुको नाममा भित्रिएको रकममध्ये रु १३ लाखभन्दा बढी फ्रिज भएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा जिल्लाका दुई वटा प्रत्यक्ष निर्वाचित सांसदहरुको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको रु १३ लाख ३२ हजार फ्रिज भएको जिल्ला विकास समिति, पर्वतले जानकारी दिएको छ ।
जिल्लाका सांसदले संसद् विकास कोषमार्फत विनियोजन गरेका योजना स्थानीय तहमा जनताले समयमै पूरा नगरेकाले उक्त रकम फ्रिज भएको जिविस पर्वतले जनाएको छ ।
निर्वाचन क्षेत्र विकासका लागि सांसदले पाएको रकममध्ये सबैभन्दा बढी नेपाली काँग्रेसका सांसद अर्जुनप्रसाद जोशीको नाममा भित्रिएको क्षेत्र नं १ को रकम फ्रिज भएको छ भने समानुपातिक सांसद कल्पना चापागार्इंको भने सबै योजना समयमा नै सम्पन्न भई रकम सदुपयोग भएको छ ।
क्षेत्र नंं १ का सांसद अर्जुनप्रसाद जोशीमार्फत आएको रकममध्ये रु १० लाख १३ हजार १७९, क्षेत्र नं २ का सांसद विकास लम्सालमार्फत आएको रकममध्ये रु तीन लाख १९ हजार ११८ फ्रिज भएको हो । क्षेत्र नं १ मा सञ्चालित योजनामध्ये गोरेटो बाटो तथा पर्यटकीय मार्ग निर्माणको रु दुई लाख ८६ हजार, खेलकुद मैदान निर्माण तथा विकासको रु एक लाख ३६७, खानेपानी निर्माण आयोजनाको रु एक लाख ४५ हजार, डिमुवा भित्री बाटो कालोपत्रेको रु एक लाख ५७ हजार, झाप्रेबगर सडकको रु एक लाख ६४ हजार, खौला अँधेरीनेटा सडक निर्माणको रु ४२ हजार, चनौटे लामापाटा सरुनचौरको रु २६ हजार, गाविस भवन तथा रोटेपानी गुन्टे खेत सिँचाइ मर्मतको रु ९० हजार फ्रिज भएको छ ।
त्यस्तै क्षेत्र नं. २ तर्फ तातोपानी–चुरी सडकको रु ६७ हजार ३९७, लामेटाप खर्क चितिखोला सडकको रु ९९ हजार १९८, सिउदीखोला–दुग्लुङ सिँचाइ योजनाको रु एक लाख ३९ हजार १२ र सिद्धिखर्क कालीका मन्दिरको रु १३ हजार ५०१ फ्रिज भएको जिविसका लेखा अधिकृत रामनाथ शर्माले जानकारी दिए ।
उक्त रकम तोकिएको समयमा विकास निर्माणका योजना सम्पन्न हुन नसक्दा फ्रिज भएको हो । यस वर्ष पर्वतका सबै गाविस र सबैजसो वडा सडक सञ्जालसँग जोडिएको भए तापनि निर्वाचन क्षेत्र विकास कार्यक्रमको अधिकांश बजेट सडकमै छुट्याइएको थियो । रासस