काठमाडौं, १६ साउन सरकारले आर्थिक सहायताको नाममा राज्यकोषबाट एकै दिन एक करोड ३२ लाख ५० हजार रुपैयाँ बाँडेको छ ।
तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले ७८ जनालाई आर्थिक सहयोग दिने निर्णय गरेको हो ।
सहायता पाउने अधिकांश दलका कार्यकर्ता आर्थिक सहायता पाउनेमा विभिन्न दलका नेता–कार्यकर्ता धेरै छन् । संवैधानिक निकायमा रहेका व्यक्तिहरूले पनि आर्थिक सहायता पाएका छन् ।
निर्वाचन आयुक्त इला शर्मालाई तीन लाख दिइएको छ । कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, एमाले नेता सोमनाथ अधिकारी, माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही र पूर्वसांसद गोविन्दनाथ उप्रेतीलाई पाँच–पाँच लाख रुपैयाँ दिइएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवनकुमार गौतमलाई एक लाख रुपैयाँ दिइएको छ।
कार्यविधिमा के छ ?
नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि ०६६ मा अशक्त, गरिब र विपन्न नागरिकलाई सरकारले आर्थिक सहायता दिन सक्ने व्यवस्था गरिएको छ ।
त्यसरी आर्थिक सहायता दिँदा गम्भीर बिरामी परेका र उपचार गर्न सक्ने हैसियत नभएकालाई मात्रै आर्थिक सहायता दिनुपर्ने कार्यविधिमा उल्लेख छ ।
आर्थिक सहायता दिनुपूर्व आर्थिक सहायता दिनुको औचित्यसमेत पुस्ट्याइँ हुनुपर्छ । कार्यविधिको खिल्ली उडाउँदै मनपरी रकम वितरण प्रमुख सत्तासीन तथा विपक्षी दलका नेताको तोकादेशमा आर्थिक सहायता वितरणको प्रस्ताव तयार पारिने गृह मन्त्रालयका एक कर्मचारीले बताए । ‘पहिले–पहिले दसैँका वेला मात्रै आर्थिह सहायता बाँडिन्थ्यो, तर अहिले जुनसुकै समयमा राज्यकोषबाट रकम बाँड्ने गरिएको छ,’ गृह मन्त्रालयका एक अधिकृतले भने ।
स्रोतका अनुसार मन्त्री तथा दलका उच्च नेताहरूले आफूनिकटका कार्यकर्ता तथा आफन्तलाई गम्भीर बिरामी भएको बहाना बनाउँदै गृह मन्त्रालयमा निवेदन दिन लगाउने गरेका छन् ।
सोही निवेदनलाई आधार मान्दै गृहमन्त्रीले सचिवलाई आर्थिक सहायताको प्रस्ताव तयार गर्न लगाउने गरेको मन्त्रालय स्रोतले बतायो । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति: १६ श्रावण २०७३, आईतवार ०७:२६