जुम्ला, १६ साउन । जुम्लामा पहिलो पटक यार्सा मिनरल वाटर प्रशोधन शुरु भएको छ । पट्मारा गाविसको उर्थुचौतारामा यार्सा मिनरल वाटर उद्योग सञ्चालन भएको हो । प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले शनिबार यार्सा मिनरल वाटर उत्पादनको उद्घाटन गरेका हुन् ।

उर्थुचौतारामा स्थापना भएको यार्सा मिनरल वाटर उद्योग उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पण्डित । तस्बिरः डिवी बुढा
जुम्लाको पानीलाई शुद्धीकरण गरी पहिलो पटक मिनरल वाटरको रुपमा बजारमा पुर्याउन थालिएकोमा प्रमुख जिल्ला अधिकारी पण्डितले प्रसंशा गरे । उनले जुम्लाको पानी स्थानीय बजारमा मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सुझाव दिए ।
२०७३ माघ महिनामा उद्योग दर्ता भएकोमा शनिवार देखि मात्रै औपचारिक रुपमा शुरु भएको हो । आइतवार देखि खलंगावासीको घरमा यार्सा मिनरल वाटर पुग्ने भएको हो । चन्दननाथ नगरपालिकाका गजेन्द्र महत, पदम महत, एकराज महत, जय वहादुर महत, गणेश रोकाया र दल महताराको साझेदारीमा उद्योग सञ्चालन भएको हो । उद्योग झण्डै एक करोड लगानीमा उद्योग स्थापना भएको हो ।
यार्सा मिनरल वाटर जार र वोतल दुवैमा उपभोक्ताको घर घरमा पुर्याइने उद्योग सञ्चालक गजेन्द्र बहादुर महतले जानकारी दिए । उनले पहिलो पटक २ सय ५० सम्म जार र एक हजार सम्म मिनरल वाटर वोतल बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।
शुरुमा जार सहित मिनरल वाटरको प्रति जार ३ सय रुपैयाँ पर्ने भएपनि पछि ७० रुपैयाँमा उपलव्ध गराउन सकिने अर्का सञ्चालक पदम वहादुर महतले वताए । उनका अनुसार प्रतिवोतल मिनरलवाटर १८ देखि २० रुपैयाँ सम्ममा विक्री गर्न सकिने छ ।
पहिलो वजार खलंगा, त्यसपछि सुर्खेत, नेपालगंज काठमाडौँ हुन्दै अन्तर्राष्ट्रिय बजारको खोजी गरिने उद्योग सञ्चालकले पदमबहादुरले बताएका छन् । सर्खेत नेपालगंज लगायतका ठुला सहरमा उत्पादन गरिएको मिनरल वाटर भन्दा जुम्लामा उत्पादन गरिएको मिनरल वाटर गुणस्तरको हुने अपेक्षा गरिएको छ । यहाँको हावापानी चिसो भएको र शुद्ध मुलवाट आएको पानी शुद्धीकरण गरिने भएकोले निकै स्वास्थकर हुने बताइएको छ ।
प्रकाशित मिति: १६ श्रावण २०७३, आईतवार ०९:०२