जुम्ला, १५ साउन ।
विगत वर्षहरुमा विकासे काममा डोजर प्रयोग गर्दा लक्षित वर्गको रकम डोजर मालिकाको पोल्टोमा परेको र लक्षित समुहलाई राहत महशुस नभएको भन्दै जुम्लामा डोजर प्रयोग गर्ने कार्यलाई निरुत्साहित गरिएको छ ।
कर्णाली रोजगार कार्यक्रममा धमाधम डोजर प्रयोग गरेर यसअघि ग्रामीण सडक निर्माण गरिएका हुन्थे । तर कार्यक्रमको मर्म अनुसार काम हुन नसकेपछि डोजर प्रयोगलाई निरुत्साहित गरिएको कर्णाली रोजगार कार्यक्रमका इन्जिनियर लेखनाथ न्यौपानेले वताए । डोजर प्रयोग गर्दा काम छिटो छरितो हुने भएपनि दिगो नहुने र लक्षित वर्गले रोजगारको प्रत्याभुति गर्न नपाउने भएपछि विकासे काममा डोजर लगाउन छोडिएको हो ।
विगत वर्षहरुमा कर्णाली रोजगार कार्यक्रमको गाविस स्तरमा जाने वजेटले मनोमानी रुपमा डोजर प्रयोग गरिएको पाइन्थ्यो । त्यसलाई परिमार्जन गरिएको कर्णाली रोजगार जुम्ला इकाईले जनाएको छ ।
गरिब घर पहिचान गरी कामदार छनौट गरेर अहिले टाउँकोमा पहेलो हेलमेट, खुट्टामा गमवुट जुत्ता, मुखमा माक्र्स, हातमा गैटी, वेल्चा, सावेल र घन वोकेर सडक निर्माणको काम हुँदै आएको छ । तातोपानी गाविसको राँका गाउँमा बन्दै गरेको सडकमा स्थानीय कामदार प्रयोग गरिएको थियो । कार्यक्रम लागु भएपछि अधिकांश लोग्ने मान्छे विदेशिएका छैनन् । विदेशिएका लोग्नको पत्नीहरुले काम पाएर लुगा रोटि सहजै जुटाउन सक्ने भएका हुन । डोजर प्रयोग गर्दा सवै रकम डोजर मालिक र उपभोक्ता समिति भित्रकै वाठाटाठा मान्छेले मात्रै फाइदा कमाउथे ।
घरमै रोजगारी सुनिश्चित भएपछि जिल्लाका अधिकांश स्थानका वासिन्दा यो वर्ष व्यापारको शिलशिलामा भारत र कामका लागि तराई झरेनन् । लोग्ने नभएका अधिकांश महिलाहरु रोजगारीका लागि काममा जुटे ।
अहिले जुम्लामा कर्णाली रोजगारको नमुना कार्यक्रम सञ्चालन भएपछि यहाँका वासिन्दा निकै खुसी छन् । पहिले उपभोक्ता समिति मार्फत जादा अधिकांश समितिले जिविस र गाविससँगको समन्वय विना डोजर लगाएपछि सडक विग्रिएको अवस्था थियो ।
अव कर्णाली रोजगारको रकमले डोजर लगाउन नपाइने निर्देशिका पनि वनेको छ । आयोजना कार्यान्वयन समितिका उपाध्यक्ष गोविन्द खत्रीले कर्णाली रोजगार कार्यक्रम अन्तर्गत डोजर प्रयोगलाई निरुत्साहित गरेपछि गरिब किसानलाई राहात भएको बताए । यो कार्यक्रमले ३५ दिन वरावरको रोजगारी सुनिश्चित गरेको छ ।
कर्णाली रोगजार प्राविधिक सहायता कार्यक्रम केप्टाका जिल्ला संयोजक राज वहादुर वुढ्थापाले गरिब घरपरिवार पहिचान गरी पारदर्शीताका साथ कार्यक्रम अघि वढेको वताए ।
पहिले उपभोक्ताले ठेक्का मार्फत डोजरसँग सम्झौता गर्दा समस्या आएको थियो अहिले कामदारको हातमै रुपैयाँ थमाउछौ, संयोजक राज वहादुर भने । कार्यक्रम अन्तर्गत कामदारलाई चोटपटक लागेमा औषधि र विमाको समेत व्यवस्था गरिएको कर्णाली रोजगार कार्यक्रमका इन्जिनियर लेखनाथले बताए । प्रथामिक उपचारको सामान काम गर्ने स्थानमै उपलव्ध गराइएको छ । दैनिक ८ घण्टा काम गर्ने गरि एक समुहमा १५ देखि २० जना सम्म आवद्ध गराइएको छ ।
उपभोक्ताले सडक निर्माणको काम गर्ने स्थलमै शौचालयको व्यवस्था हुन्छ । नियमित राम्रो काम गर्दै गए रोजगार कार्यक्रमको निर्देशिका वमोजिम काम गर्नेको ज्याला वढ्दै जान्छ । हरेक पन्ध्र÷पन्ध्र दिनको फरकमा निर्वाहमुखि ज्याला दिइदै आएको छ भने दैनिक दुई पटक हाजिर गर्ने व्यवस्था गरिएको छ ।
आगामी वर्षमा यस वर्ष छुटेका व्यक्तिहरुलाई समावेश गर्ने लक्ष छ । कुलो बनाउदा रुख काटिएमा न्युनतम् १ सय विरुवा रोप्ने कर्णाली रोजगार कार्यक्रम प्राविधिक सहायता जुम्लाले जनाएको छ ।
प्रकाशित मिति: १५ श्रावण २०७३, शनिबार ०८:००