काठमाडौं, १५ साउन । राष्ट्रपति विद्या भण्डारीले राजनीतिक सहमतिका आधारमा नयाँ सरकार गठनको आह्वान गरेको पाँच दिन पुगेको छ । तर, दलहरू सहमतिका लागि औपचारिक छलफलमा छैनन् ।
सहमतीय सरकारको पक्षमा कांग्रेस नरहेका कारण बहुमतीय सरकार बनाउने विषयमा अनौपचारिक छलफल भएका छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा २९८ को उपधारा २ अनुसार सात दिनभित्र राजनीतिक सहमतिका आधारमा सरकार गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने दललाई आह्वान गरेकी थिइन् । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयावधि १६ साउनमा सकिन्छ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
अनौपचारिक छलफलमा प्रचण्ड
प्रचण्डले सहमतीय सरकारका विषयमा यसबीचमा कांग्रेसबाहेकका दलसँग अनौपचारिक छलफल गरेका छन् । शुक्रबार एमाले नेता माधवकुमार नेपाल र परिवार दलका अध्यक्ष तथा शान्तिमन्त्री एकनाथ ढकालसँग प्रचण्डले छलफल गरेका थिए । ‘नेपाल र ढकालसँग अध्यक्षले अनौपचारिक संवाद गर्नुभएको छ,’ प्रचण्डका सहयोगी पूर्ण कार्कीले भने, ‘छलफल सहमतीय सरकारको विषयमा केन्द्रित थियो ।’ नेपाल र ढकाल आइक्यापका अध्यक्ष जोसे डे भेनेसियासँगै शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेका थिए ।
आज औपचारिक छलफलको तयारी
माओवादी अध्यक्ष प्रचण्डका स्वीकय सचिव जोगबहादुर महराका अनुसार प्रचण्डले सहमतीयका लागि शनिबारबाट मात्रै छलफल थाल्ने भएका छन् । ‘अध्यक्षले कांग्रेस, मधेसी मोर्चासँग संयुक्त बैठक गर्ने तयारी गर्नुभएको छ,’ महराले नयाँ पत्रिकासँग भने, ‘एमालेका शीर्ष नेताहरूसँग पनि छलफल गर्ने तयारी छ ।’
अन्य नेता मन्त्रालय र नीति तथा कार्यक्रमबारे छलफलमा
कांग्रेस–माओवादीका अन्य नेताहरू बहुमतीय सरकारको नीति तथा कार्यक्रम र मन्त्रालय भागबन्डाका विषयमा केन्द्रित रहेर छलफलमा छन् । यस्तो छलफलमा कांग्रेस नेताहरू कृष्ण सिटौला, विमलेन्द्र निधि, रमेश लेखक र माओवादी नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुन अनन्त सक्रिय छन् ।
सहमतीयको जिम्मा प्रचण्डलाई
कांग्रेस–माओवादी केन्द्रका शीर्ष नेताको १२ साउनको बैठकले राष्ट्रिय सहमतिको सरकार गठनका लागि सबै दलसँग परामर्श गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको छ । सोही दिन बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले पनि पहलको जिम्मा प्रचण्डलाई नै दिएको थियो । तर, प्रचण्डले औपचारिक छलफल गरेका छैनन् ।
सहमतीय नभए बहुमतीय प्रक्रिया
सहमतीय प्रयास असफल भए बहुमतीय प्रक्रियाअनुसार प्रधानमन्त्रीको निर्वाचन गर्न राष्ट्रपति विद्या भण्डारीले अर्को आह्वान गर्नेछिन् । १६ साउनमा सहमतीय सरकार गठनको समय सकिएपछि अर्को आह्वान हुनेछ । सभामुख ओनसरी घर्तीले १७ साउनका लागि व्यवस्थापिका–संसद्को बैठक बोलाएकी छिन् । बहुमतीय प्रक्रियाअनुसार संसद्मा कायम सांसदको बहुमत प्राप्त गर्ने उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित हुनेछन् ।
प्रकाशित मिति: १५ श्रावण २०७३, शनिबार ०७:१३