काठमाडौ, १६ साउन । सरकारको वार्षिक विकास कार्यक्रममा अहिलेसम्म भेटिएकामध्ये सबैभन्दा पुरानो, तर सम्पन्न नभएको आयोजना महाकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिंकर) सडक हो । कुल चार सय २० किलोमिटर लम्बाइको यो सडक आर्थिक वर्ष ०४१/४२ मा सुरु गरिएको हो । यसको लागत २ अर्ब १७ करोड अनुमान गरिएको छ ।
३१ आर्थिक वर्षसम्म निरन्तर सरकारको रातो किताबमा अटेको उक्त आयोजनाले चालू आव ०७३/७४ (३२औ वर्ष) मा पनि स्थान पाएको छ । बजेट उपशीर्षक नम्बर ३३७१०५–३/४ रहेको उक्त आयोजनाको चालू आबमा १२ किमि ट्रयाक खोलिने र दुईवटा पुल निर्माणलाई निरन्तरता दिने कार्यक्रम छ ।
अहिलेसम्म कुल लम्बाइको ४३ किमि ट्रयाक खोलिसकेको छ । तर, सडक विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले यो आयोजना ०६५ तिर मात्र सुरु भएको दाबी गरे । आव ०४८/४९ मा सुरु गरिएको नुवाकोटको गंगटे–लब्धु समुद्रटार–गल्फुभञ्ज्याङ सडक थालिएको २५ वर्ष पूरा भइसकेको छ । कुल ५० किलोमिटर लम्बाइ रहेको यसको लागत ३१ करोड रुपैयाँ मात्र छ । तर, त्यसमा हरेक वर्ष पैसा विनियोजन हुने गरे पनि त्यो पूरा हुन सकेको छैन ।
उक्त सडक आयोजनाको चालू आवमा ११ किमि ग्रेड सुधार र चौडा पार्ने तथा आठ किमि ग्राभेल स्तरमा स्तरोन्नति गर्ने लक्ष्य छ । अहिलेसम्म सडकको पूरै ट्रयाक खोलिसकेको छ भने ५० मध्ये ३० किलोमिटर कालोपत्रे भइसकेको छ । दु:खको विषयचाहिा यो आयोजना चालू आवमा पनि सम्पन्न हुनेछैन । त्यस्तै, आर्थिक वर्ष ०५०/५१ मा बाग्लुङ–बेनी सडकमा बजेट विनियोजन गर्न सुरु गरिएको हो । १५ किलोमिटर लम्बाइको यो सडकको लागत ५० करोड रुपैयाँ रहेको छ । तर, अहिलेसम्म ६ किलोमिटर मात्र कालोपत्रे भएको छ ।
२२ वर्षपहिला सुरु भएको आयोजना वर्षको एक किलोमिटर मात्र निर्माण भएको हुन्थ्यो भने पनि सात वर्षअघि नै सम्पन्न भइसकेको हुने थियो । अहिलेसम्मको प्रगति हेर्दा वर्षमा ६ सय ८१ मिटर मात्र सडक निर्माण भएको राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको वार्षिक विकास कार्यक्रमको तथ्यांकले देखाउँछ । चालू आवमा यो सडक थप तीन किमि कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । योजनाअनुसार काम भएमा आगामी आवमा थप ६ किलोमिटर सडक अझै कालोपत्रे हुने बाँकी नै रहनेछ । त्यस्तै, आव ०५०/५१ मा सुरु भएको सुर्खेतको गुमी–पातिहाल्ना चौर ५२ किलोमिटर सडक लम्बाइ हालसम्म पनि हरेक वर्ष बजेटमा पर्दै आएको छ । दुई अर्ब ५० करोड रुपैयाँ लागत ‘स्टमेट’ गरिएको उक्त सडकको ट्रयाक खोल्ने काम मात्र पूरा भएको छ ।
१७ किलोमिटर ग्राभेल र सात किलोमिटरको चौडाइ विस्तार गरिएको छ । २२ वर्ष पूरा भइसक्दा पनि अझै कालोपत्रे सुरु गरिएको छैन । चालू आवमा भने तीन किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ । बेसीसहर–चामे–मनाङ सडक निर्माण थालिएको २३ वर्ष टेकिसकेको छ । ३२ किलोमिटर लम्बाइको उक्त सडक स्तरोन्नति गर्न सुरु गरिएको हो । अहिलेसम्म ६ किलोमिटर मोड तथा ग्रेड सुधार र दुई किलोमिटर ग्राभेल भएको छ । चालू आर्थिक वर्षमा दुई किमि कोलोपत्रे गर्ने तीन किमि ग्राभेल गर्ने र १० किमि मोड सुधार तथा ग्रेड सुधार गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: १५ श्रावण २०७३, शनिबार ०७:०१