सुर्खेत, १३ साउन ।
सुर्खेत जिल्लाको स्थानीय तहको प्रस्तावित संरचनामा केही हेरफेर गर्न नागरिक समाजका प्रतिनिधिहरु, गैर सरकारी संघ सस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुले सुझाव दिएका छन् । स्थानीय तह पुनर्संरचना प्राविधि सहयोग समितिको कार्यसर्त र मापदण्ड सम्बन्धी कार्यशालामा सहभागि स्थानीय नागरिक अगुवाहरुले यस्तो सुझाव दिएका हुन् ।
गैर सरकारी संघ सस्थाका अध्यक्ष हरि अधिकारीले स्थानीय तहको संख्यामा वृद्धि गर्नु पर्ने र वडा तहलाई बढी बनाएर यसले गर्दा सेवा तहमा वृद्धि हन सक्ने बताए । उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारीले नामाकरण अझै सरल बनाउन सुझाव दिए । उनले तरगांलाई आर्थिक क्षेत्रमा विषेश ध्यान दिन र साटाखानीलाई वीरेन्द्रनगर नगरपालिकामा जोड्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ सुर्खेतका गणेशकञ्चन भारतीले चिगांड क्षेत्रलाई आर्थिक रुपमा विषेश ध्यान दिनु पर्ने भन्दै तह नम्वर ४ र ५ जस्तै गरेर तह नम्वर ८ र ९ लाई विषेश अधिकार दिनु पर्ने सुझाव दिए । भने नेपाल पत्रकार महासंघका पूर्व सभापति श्रीधर पौड्यालले स्थानीय तहको पुनर्संरचनासँगै जनताले पाउनु पर्ने खानेपानी लगायतका सेवा सुविधामा पनि ध्यान दिन आग्रह गरे ।
प्रस्तावित संरचनामा आफ्नो धारणा राख्दै जिल्ला कृषि विकास सुर्खेतका वरीष्ठ कृषि विकास अधिकृत विजय गिरीले विगत भन्दा जनताहरुले अझै दुख पाउने बताउदै साटाखानीलाई नगरपालिकामा राखिनु पर्ने बताए ।
महिला विकास तथा बालबालिका कार्यालयका महिला अधिकृत जमुना पौडेलले स्थानीय तहको पुनर्संरचनामा पार्क, उद्यान, महिला पुनस्र्थापना केन्द्र, पुस्तकालय लगायतका पूर्वाधारमा ध्यान दिनु पर्ने बताउँदै अन्य संरचना पनि स्थापना गर्नु पर्ने धारणा राखिन् ।
स्थानीय तह पुनर्संरचना प्राविधि सहयोग समितिको कार्यसर्त र मापदण्ड सम्बन्धी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले सुरक्षा सम्बन्धी सूचना समेत अत्यावधिक गर्ने र सीमाकंन गर्ने विषयमा धेरै ध्यान दिनु पर्ने सुझाव दिएका थिए ।
स्थानीय तह पुनर्संरचना प्राविधि सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले राजनीतिक दल, सरकारी निकाय, नागरिक समाजले दिएको सुझावलाई मध्यनजर गरी सुर्खेत जिल्लाको स्थानीय तहको संरचनामा प्रस्तावित गरिने बताए ।
स्थानीय संख्या तथा सीमाना निर्धारण आयोगले सुर्खेतलाई ८ तहमा विभाजन गरेपछि जिल्लामा स्थानीय तह पुनर्संरचना प्राविधि सहयोग समितिमार्फत जिल्लाको सीमासहितको प्रस्तावित संरचना सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति: १३ श्रावण २०७३, बिहीबार १८:१८