जुम्ला, साउन १३,
राज्य पुनर्संरचना बारेको वहस घनिभूत भईरहेका वेला जुम्लाका स्थानीय दल जिल्लाको पुनर्संरचनाको गृहकार्यमा जुटेका छन् । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधी बमोजिम जिल्लाको पुनर्संरचनाका लागि स्थानीय दल गृहकार्यमा जुटेका हुन् ।
नेकपा एमाले बिहीबार आफ्नो आधिकारीक धारणा सार्वजनिक गर्ने सचिव आदी प्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार अहिलेका सवै गाविसलाई अनुकुल पर्ने गरि जिल्ला पुर्नसंरचनाको खाका तयारी भइरहेको छ ।
नेकपा एमाले जुम्लाले पहिलो चरण जिल्ला समितिका छलफल गरेपनि अहिले आफ्ना शुभेच्छुक संस्थासँगको राय संकलन गरेको जनाएको छ । यता नेकपा माओवादी केन्द्रले जिल्लाको पुनर्संरचनाका विषयमा छलफल शुरु गरेको छ । भौगोलिक रुपमा सवैलाई चित्त वुझ्ने गरि जिल्लाको पुनर्संरचनाको खाका वनाउन लागिएको जिल्ला संयोजक विर वहादुर कुवरले जानकारी दिए । उनले भने गाउँ गाउँ देखि अगुवा कार्यकर्तालाई सदरमुकाम खलंगामा भेला पारीएको छ ।
यता नेपाली काँग्रेसले पनि जिल्लाको पुनर्संरचनाका बारेमा गम्भीर भएर सोचिरहेको जनाएको छ । जिल्ला सभापति दिप वहादुर शाही जाति, वर्ग, लिंग, जनसंख्या र भौगोलिक वनावटका आधारमा जिल्लाको पुनर्संरचनाका लागि पार्टीमा वहस भइरहेको बताउँछन् । उनले जिल्लावासीको हितलाई आधार मानेर संरचनाको खाका सार्वजनिकको तयारी भइरहेको बताए । सवै दलले जिल्लाको भुगोल र जनसंख्याका आधारमा कसैलाई मर्का नपर्ने गरि जिल्लाको पुनर्संरचना अभियानमा अघि वढ्नु पर्नेमा जोड दिइएकाका छन् ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका अनुसार जिल्ला भित्र वन्न सक्ने स्थानीय तहको संख्या निर्धारण अनुसार जुम्लामा ७ वटा गाउँपालिका बन्ने भएका छन् ।
जिल्ला विकास समिति जुम्लाले भने जिल्लाको भौगोलिक बनावटलाई आधार मान्दै जुम्लालाई ६ गाउँपालिकामा पुनर्संरचना गर्ने गरि प्रस्ताव अघि वढाउने भएको छ । स्थानीय तह पुनर्संरचनाको प्राविधिक सहयोग समितिका संयोजक स्थानीय विकास अधिकारी राजेश पौडेलले जिल्लाको भुगोल, जनंसंख्याको अवस्थालाई मध्येनजर गर्दै गाउँपालिका विभाजनको प्रस्ताव निर्माण गरिएको बताए ।
उनका अनुसार जुम्लालाई ६ गाउँपालिका वनाउँदा निकै प्रभावकारी हुने देखिन्छ । जस अन्तरगत वुम्रामाडिचौर, मालिकावोता, कनकासुन्दरी, विराट र धापा गाविसलाई एक गाउँ पालिका वनाउन सकिने छ ।
यसैगरी पाण्डपगुफा, नराकोट, शनिगाउँ,वड्की, कालिकाखेतु र महावैपातरखोला गाविसलाई अर्को गाउँ पालिका वनाउन सर्वदलिय सर्वपक्षिय छलफलमा प्रस्तावका लागि अघि वढाईने भएको छ । यो सँगै सिजा क्षेत्रका ११ वटा गाविस गरेर २ गाउँ पालिका वन्ने भएका हुन् ।
यस्तै पान सय क्षेत्रको घोडेमहादेव ,मालिकाठाटा, रारालिही र कुडारी गाविसको आधा गरेर एक र कुडारीको आधा, तातोपानी, ताम्ती, हाँकु, लाम्रा गाविस गरेर अर्को पालिका निर्माण गरि दुई वटा गाउँ पालिका वन्ने छन् ।
यस्तै असि क्षेत्रका तलिउम, महत, चन्दननाथ, देपालगाउँ, कार्तिकस्वामी र गज्र्यांकोट गाविसलाई गरेर एक नगरपालिका वनाउने प्रस्ताव स्थानीय तह पुनर्संरचनाको प्राविधिक सहयोग समितिले लिने तयारी थालेको छ ।
चौधविस क्षेत्रका पट्मारा,डिल्लीचौर, गाठिचौर, छुमचौर र पातारासी गाविस गरेर एक गाउँ पालिकाको रेखांकन गरिएको छ । जिल्लाका दलका स्थानीय नेता, वुद्धिजीवि, नागरिक समाजका अगुवाको छलफलका आधारमा आवश्यक संशोधन गरेर अघि वढ्न सकिने स्थानीय विकास अधिकारीले जानकारी दिए । हिमाली जिल्लामा एक गाउँ पालिकामा १५ हजार र नगरपालिका क्षेत्रको लागि २० हजार जनसंख्या हुनु पर्ने मापदण्ड वनाइएको छ । अहिले जिल्लामा एक नगरपालिका र २६ गाविस छन् ।
प्रकाशित मिति: १३ श्रावण २०७३, बिहीबार ०९:५०