काठमाडौ १३ साउन -बैङ्क तथा वित्तीय संस्थाले पूँजी बढाउन प्रक्रिया पुर्याउन नसक्दा बोनस शेयर तथा नगद लाभांश वितरणमा ढिलाइ हुने गरेको पाइएको छ । कम्पनीले प्रस्ताव गरेको बोनस शेयर वितरणका लागि लामा तथा झन्झटिला प्रक्रियाका कारण वितरणमा ढिलाइ हुने कम्पनीको भनाइ छ । तर, राष्ट्र बैङ्क भने यस कुरामा सहमत छैन ।
बोनस तथा नगद लाभांश वितरणमा झन्झटिलो प्रक्रियाभन्दा पनि कानूनसम्मत प्रक्रिया स्वयम् कम्पनीहरूले नपु¥याएका कारण काममा केही ढिला हुने गरेको राष्ट्र बैङ्कका प्रवक्ता त्रिलोचन पङ्गेनीले बताए । ‘राष्ट्र बैङ्कले कानूनअनुरूप प्रक्रिया पु¥याएर आउने कम्पनीहरूलाई तत्काल स्वीकृति दिन्छ,’ उनले भने ।आर्थिक अभियान दैनिकमा खबर छ ।
ठूला बैङ्कहरूले बोनस तथा नगद लाभांश वितरणका लागि छुट्टै विभाग खडा गर्ने भएकाले यी बैङ्कमा खासै समस्या नदेखिएको उनको भनाइ छ । वीरगञ्जस्थित राप्तीभेरी विकास बैङ्ककोे चैत ३० गते सम्पन्न साधारणसभाले १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरे पनि अहिलेसम्म वितरण गर्न सकेको छैन । बैङ्कले पूँजी बढाउन बोनस शेयर पारित गरे पनि कम्पनी रजिष्ट्रार कार्यालयमा पूरा गर्नुपर्ने प्रक्रिया पूरा नगरेका कारण ढिलाइ भइरहेको बताइएको छ ।
‘सबै प्रक्रियाका बारेमा थाहा थिएन, अहिले यसै कामका लागि काठमाडौं आएको छु, केही समयमा सबै प्रक्रिया पुर्याएर चाँडै शेयर वितरण गर्नेछौं,’ बैङ्कका एक अधिकारीले बताए ।
बोनस शेयरका लागि प्रक्रिया पनि अलि झन्झटिलो रहेछ, साधारणसभाबाट वितरण गराउनुपर्ने, राष्ट्र बैङ्कबाट स्वीकृति, कम्पनी रजिष्ट्रार कार्यालयमा जानुपर्ने, वितरणका लागि बैङ्कर पनि खोज्नुपर्नेलगायत लामा प्रक्रियाका कारण वितरणमा ढिलाइ भइरहेको हो, उनको भनाइ थियो ।
कालिञ्चोक डेभलपमेण्ट बैङ्कले पनि गत वैशाखमा नै बोनस शेयरका लागि साधारणसभाबाट पारित गरिसकेको छ । शेयर वितरणमा भने अझै २ महीना लाग्ने बैङ्कको भनाइ छ । आफ्ना काम प्रक्रियामा नै रहेको बैङ्कको भनाइ छ । साथै कालिञ्चोक केही समयभित्रै टुरिजम बैङ्कमा गाभिन लागेकाले पनि थप ढिला भएको बैङ्कले बताएको छ । नागरिक लगानी कोषको गत चैत्रमा पारित गरेको नगद लाभांश र बोनस शेयरमा नगद लाभांश वितरण गरेको भए पनि बोनस शेयर भने वितरण गर्न अझै केही समय लाग्ने कोषको भनाइ छ ।
यसैगरी ७ महीनाअघि नै महाकाली विकास बैङ्कले बोनस शेयर दिने बताए पनि अझैसम्म शेयर वितरण गरेको छैन । पोखराको फेवा विकास बैङ्कले पनि प्रक्रिया पुर्याउन तल्लीन रहेको जानकारी दिएको छ । बैङ्क तथा वित्तीय संस्थाले पूँजी बढाउन कम्पनी रजिष्ट्रार कार्यालमा निवेदन दिनुपर्ने हुन्छ ।
प्रकाशित मिति: १३ श्रावण २०७३, बिहीबार ०७:०३